१९ असार २०८३, शुक्रबार

चुनावले बढायो पेट्रोलियम पदार्थको माग

बैशाख २१, २०७९
चुनावले बढायो पेट्रोलियम पदार्थको माग

स्थानीय निर्वाचनको चहलपहल बढ्न थालेसँगै पेट्रोलियम पदार्थको माग बढेको छ ।

पछिल्लो १५ दिनमा करिब १० प्रतिशत माग बढेको नेपाल आयल निगमले जनाएको छ ।

स्थानीय  तहमा  चुनावी  चहलपहल  र राजनीतिक दलका प्रचारप्रसार तीव्र हुँदा डिजेल पेट्रोलको माग बढेको हो ।

नेपाल आयल निगमका अनुसार हाल पेट्रोल दैनिक दुई हजार किलोलिटर बिक्री वितरण भइरहेको छ भने डिजेल दैनिक पाँच हजार  किलोलिटर  माग  छ  ।

 एलपी  ग्यास  दैनिक एक लाख १० हजार सिलिन्डरको माग छ । यसअघि एलपी ग्यास दैनिक एक लाख सिलिन्डरको माग थियो । माग  अझै  बढ्न  सक्ने  निगमको  अनुमान छ । माग बढे पनि आपूर्ति सहज रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

पर्याप्त भण्डारण रहेकाले माग जति बढे पनि आपूर्तिमा समस्या नहुने उनको भनाइ छ ।

हाल  निगमले  ६८  हजार  ३७९  किलोलिटर  पूर्ण  भण्डारण  क्षमतामा  ७७  प्रतिशत भण्डारण गरेको छ । ११ हजार ३०३ किलोलिटर  पेट्रोल  भण्डारण  क्षमतामा  ८१  प्रतिशत भण्डारण रहेको छ । ४४ हजार ८४९ किलोलिटर भण्डारण क्षमतामा ८२ प्रतिशत डिजेल मौज्दात रहेको निगमका सहप्रवक्ता पुष्कर  कार्कीले  जानकारी  दिए ।  

आठ  हजार  १५३  किलोलिटर  भण्डारण  क्षमता  रहेको हवाई इन्धनमा ८९ प्रतिशत भण्डारण भएको छ । मट्टितेल ३८ प्रतिशत भण्डारण छ  ।  वैशाख  १८  गते  इन्डियन  आयल  कर्पोरेसनबाट प्राप्त मूल्य सूचीमा पेट्रोलियम पदार्थको  मूल्य  बढेर  आए  पनि  मूल्य  समायोजन गरिएको छैन । १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको निगमले पछिल्लो दुई पटक समायोजन गरेन ।

निर्वाचनको समय भएकाले घाटा भए पनि पछिल्लो समय मूल्य समायोजन  नगरिएको  प्रवक्ता  उपाध्यायको  भनाइ छ ।

निगमका  अनुसार  नयाँ  मूल्यअनुसार  पेट्रोल प्रतिलिटर पाँच रुपियाँ १८ पैसा, डिजेल १० रुपियाँ १८ पैसा र हवाई इन्धन सात रुपियाँ १२ पैसाले बढेर आएको थियो ।

एलपी ग्यासमा प्रतिसिलिन्डर  ११८  रुपियाँ  बढेर  आए  पनि  समायोजन भएको छैन । पेट्रोलियम पदार्थबाट हाल निगमलाई १५ दिनमा करिब पाँच अर्ब १९ करोड रुपियाँ घाटा छ ।  गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्