
स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेका युवा मतदाता निकै उत्साहित भएका छन् ।
आफ्नो मताधिकार प्रयोग गरेर जनप्रतिनिधि छान्न पाउने कुराले उनीहरूमा उत्साह थपिएको छ । लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने र आफ्नो एक मतको विशेष महत्व हुने विषयले नयाँ मतदातालाई जिम्मेवार बनेको पनि अनुभव भइरहेको छ ।
ओखलढुङ्गाको लिखु गाउँपालिकाका निशान भट्टराईलाई मतदान गर्न पाउने कुराले नयाँ अधिकार थपिएको अनुभव भएको छ । उनलाई समाजमा अब हाम्रो पनि योगदान छ भन्ने जिम्मेवारी बोध भएको छ । उनी पार्टीभन्दा पनि काम गर्नसक्ने व्यक्ति हेरेर मतदान गर्ने सोचमा छन्। जनप्रतिनिधिले धेरै गर्न सक्ने भए पनि काम गर्न नसकेको अनुभव आफूले गरेको सुनाउँदै चार्टर्ड एकाउन्टेन्ट विषय अध्ययन गरिरहेका भट्टराईलाई गाउँपालिकामा भएको बेरुजु देख्दा नरमाइलो लाग्ने गरेको छ ।
उनी ले आफ्नो गाउँघरमा अब निर्वाचित भएर आउने जनप्रतिनिधिले विद्यालयको भौतिक मात्र नभएर समग्र शैक्षिक विकास, स्वास्थ्य सेवा प्रवाह, उद्यमशीलता, विकास, बाटो, नागरिक सेवाको सहज पहुँचमा जोड दिनुपर्ने धारणा व्यक्त गरे। युवा र विद्यार्थीका लागि पढ्न सहज बनाउन वाइफाइ र ल्यापटपको व्यवस्था भए विश्वको जुनसुकै पढाइ गाउँमै बसेर पढ्ने सक्ने अवस्था हुने उनी को विश्वास छ । उनी ले, कर्मचारीबाट रेस्पोन्स पाउनै गाह्रो छ, उनीहरू डाइनामिक छैनन् भन्दै अब स्मार्ट पालिका बनाउनेतर्फ जनप्रतिनिधिले सोच्नुपर्ने सल्लाह दिए ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाकी चेतना दुलाललाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने कुराले रोमान्चित बनाएको छ । पहिलो पटक प्रयोग गर्न लाग्नुभएको मताधिकारलाई सबैभन्दा असल व्यक्ति चयन गर्न प्रयोग गर्ने उनको इच्छा छ । राजनीतिक रूपमा यो वा त्योभन्दा पनि असल र जिम्मेवार जनप्रतिनिधि छान्ने उनले बताइन् । काभ्रेकी युवा दुलालले भनिन्, “योजना राम्रो छ भने स्वतन्त्र उम्मेदवारलाई पनि भोट दिन सकिन्छ ।” उनी आफ्नो ठाउँमा सडक र विद्यालयको विकास, महिला सशक्तीकरण, रोजगारीका अवसर होस् भन्ने चाहना राख्छिन् । भ्रष्टाचार नभएर बजेटको सदुपयोग होस् भन्ने उनको चाहना छ । पार्टीलाई मात्रै केन्द्रित गरेरभन्दा पनि जनता केन्द्रित भएर काम गर्नुपर्ने उनको सुझाव छ ।
रामेछापको सुनापति गाउँपालिका बेथानकी सुशीला चालिसे मतदान गर्न पाउने कुराले निकै उत्साहित छन्। गाउँको विकासमा केन्द्रित उम्मेदवारलाई मत दिने चाहना व्यक्त गर्दै उनले भनिन्, “गाउँमै प्राविधिक शिक्षाको विकास होस् भन्ने लाग्छ ।” वाणिज्यशास्त्रमा स्नातक अध्ययनरत चालिसेले गाउँमै बैङ्किङ सेवा प्राप्त नभएकाले यसतर्फ उम्मेदवारले ध्यान दिनुपर्ने बताइन् ।
काभ्रेको देवभूमि गाउँपालिकाकी आयूषी खरेललाई आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने कुराले उत्साह सञ्चार भएको छ । आफ्नो एक मतको महत्व रहेकोमा खुसी व्यक्त गर्दै उनले निर्वाचित जनप्रतिनिधिलाई युवाका लागि शिक्षा र रोजगारीका अवसर सिर्जना गर्न सुझाव दिइन् । गोरखापत्र दैनिकमा सविता शर्माले खबर लेखेकी छन् ।