
मोरङको उर्लाबारी नगरपालिकाको मेयरका लागि पुराना र नयाँ अनुहार चुनावी मैदानमा होमिएका छन् ।
नेपाली कांग्रेसबाट निवर्तमान मेयर खड्गबहादुर फागो, नेकपा एमालेबाट गंगाप्रसाद खरेल मेयरका उम्मेदवार छन् भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच गठबन्धन भएको छ । मेयर पदमा मुख्य २ दल एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदैछ ।
गत निर्वाचनमा ३५ हजार २८८ मत खस्दा कांग्रेसका फागोले ११ हजार ६३२ मत ल्याएर निर्वाचित भएका थिए । त्यसबेला एमालेका भूपालसिंह राईले ८ हजार ५४२ र माओवादी केन्द्रका राजेन्द्रप्रसाद पौडेलले १ हजार ९७९ मत पाएका थिए । उपप्रमुखमा एमालेकी लक्ष्मीदेवी भण्डारीले झिनो मतान्तरले विजयी भएकी थिइन् । उपप्रमुखमा भण्डारीले ९ हजार ५३९ मत ल्याएकी थिइन् । कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार सीता कार्कीले ९ हजार २८० मत पाएकी थिइन् । भण्डारी र कार्कीको मतान्तर २५९ मात्रै थियो ।
गत चुनावमा एमालेले १, ४, ८ र ९ नम्बर वडा जितेको थियो भने कांग्रेसले २, ३, ५, ६, ७ र ९ नम्बर गरी ५ वडा जितेको थियो । माओवादीले कुनै पनि वडा जित्न सकेको थिएन ।
२०७४ सालभन्दा यसपालि ८ हजार ९२४ नयाँ मतदाता थपिएका छन् । पहिले ३५ हजार २८८ मतदाता थिए भने अहिले ४४ हजार २७२ मतदाता पुगेका छन् । थपिएका मतदाताले पहिलोपटक स्थानीय चुनावमा मतदान गर्दैछन् । मुख्य दलका उम्मेदवार आफ्नो भिजनभन्दा पनि एकअर्काको विरोध गरेर जनताको घरदैलोमा गइरहेका छन् ।
कृषियोग्य जमिनमा बालुवा हाल्नेलाई जनताले भोट दिँदैनन् : फागो
नेपाली कांग्रेस १ नम्बर प्रदेश सहमहामन्त्री समेत रहेका फागो आफूले ५ वर्षे कार्यकालमा गरेको विकास र जनपक्षीय कामका आधारमा मत आउने दाबी गर्छन् । उर्लाबारीमा ५ वर्षमा जनताले अनुभूति हुने गरी गरेको काम नै आफू जित्ने सबैभन्दा ठूलो आधार भएको फागो बताउँछन् ।
कार्यपालिकामा एमालेले जितेका प्रतिनिधिको बहुमत भएकाले आफूलाई काम गर्न नदिइएको उनी गुनासो गर्छन् । आफैं निर्णय गर्ने र पछि आफैं अदालतमा गएर मुद्धा हाल्ने काम जनप्रतिनिधिबाट भएकाले झण्डै २८ महिना अदालत जानमै बितेको उनी बताउँछन् ।
अधुरा काम पूरा गर्न मेयरमा दोहोरिन चाहेको फागोले बताए । पढ्दै कमाउँदै कार्यक्रम लगायतका धेरै कार्यक्रमलाई उनले घोषणा पत्रमा उल्लेख गरेका छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ऋण दिने, पढिसकेपछि काम गरेर ऋण तिर्ने, उर्लाबारीमा आकाशे पुल निर्माण गर्ने जस्ता काम उनले अगाडि बढाएका छन् । स्वास्थ्य बीमा, रोजगारी, कृषि, पर्यटनलाई समेत फागोले घोषणा पत्रमा उल्लेख गरेका छन् ।
फागोले एमालेका मेयरका उम्मेदवार खरेललाई जग्गा दलालको संज्ञा दिएका छन् ।
'५ वर्ष नगरपालिका ‘सिस्टम’भन्दा बाहिर गयो'
एमालेले मेयरमा उम्मेदवार बनाएका खरेल नरम स्वभावका मानिन्छन् । यसैपटक चुनाव जित्नेमा उनी ढुक्क छन् । प्रतिस्पर्धी समेत रहेका कांग्रेसका उम्मेदवार फागोले ५ वर्षे कार्यकालमा काम गर्न नसकेकै कारण आफू चुनाव जित्नेमा ढुक्क रहेको उनको दाबी छ ।
सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको पनि मत तानेर चुनाव जित्ने दाउमा खरेल छन् । कांग्रेस भित्रको असन्तुष्ट समूहको भोट ल्याएर चुनाव जित्ने दाउमा रहेका खरेल समाजवादीका नेताहरूलाई समेत फकाउन थालेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर चुनावी मैदानमा होमिएका खरेलले जग्गा कारोबारी भए पनि सरकारको नीतिभन्दा बाह्य गएर काम नगरेको बताए । फागोसँग आफ्नो प्रतिस्पर्धा नै नहुने खरेलले बताए । निर्वाचित भएपछि आफूले प्लटिङ नगर्ने समेत उनले बताए ।
५ वर्षसम्म फागोले रवाफ देखाएर नगरपालिकलाई ‘सिस्टम’ बाहिर लगेकाले सिस्टममा ल्याउनका लागि पनि चुनाव जित्न आवश्यक रहेको उनले बताए ।
मेयरमा ७ र उपमेयरमा ८ जनाको उम्मेदवारी
गठबन्धनबाट एकीकृत समाजवादीका मेयरका उम्मेदवार मानबहादुर श्रेष्ठ र माओवादीका उपप्रमुखका उम्मेदवार टीकाकुमारी भट्टराई (शिला) चुनावी मैदानमा उत्रिएका छन् । उर्लाबारी नगरपालिकाको प्रमुखमा एक स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा ८ जनाले उम्मेदवारी दिएका निर्वाचन अधिकृत ओमकारप्रसाद न्यौपानेले जानकारी दिए ।
उपप्रमुखमा १ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । ४७ पदका लागि हुन लागेको निर्वाचनमा २४४ जनाले उम्मेदवारी दिएका छन् ।