
पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू सपना बाँड्न नभई काम गर्न महानगर प्रमुखको उम्मेदवार बनेको बताएकी छन् ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘चुनावी सभा’मा उनले काठमाडौँको विकासका लागि आफूले ठूला सपना नबाँडेको बताउँदै आफूले अगाडि सारेको सङ्कल्प पत्रअनुसार काम गर्ने उल्लेख गरिन्।
“स्वच्छ, सफा र हराभरा महानगर निर्माण गर्नका लागि म काठमाडौँवासीको अभिभावक बन्न चाहन्छु, काठमाडौँलाई ‘महान् घर’ बनाउन चाहन्छु”, उनले भनिन्। उनले २५ वर्ष पहिलेका प्रमुख पिएल सिंहले सारेको परिकल्पनालाई पूरा गर्ने विश्वाससमेत व्यक्त गरिन् ।
नेत्री सिंहले काठमाडौँभित्रको खाल्डाखुल्डी र धुलोधुवाँको समस्या समाधान गर्दै फोहोर व्यवस्थापन घरबाटै सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। काठमाडौँभित्र देखिएको भद्रगोल ट्राफिकलाई व्यवस्थित बनाउँदै सबैलाई सार्वजनिक यातायात चढ्ने वातावरण निर्माण गर्ने उनको भनाइ थियो ।
महागरनगर प्रमुखका उम्मेदवार सिंहले फुटपाथ व्यवसायलाई व्यवस्थित, ठूला सडकमा ‘साइकल लेन’को व्यवस्था, बागमती, विष्णुमती, रुद्रमतीलगायतका नदीलाई व्यवस्थित बनाउने, निम्न आय भएका महिलालाई विशेष राहत भत्ताको व्यवस्था गर्ने बताइन् ।
गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले आफू निर्वाचित भएमा सुशासनयुक्त महानगर, भ्रष्टचारमुक्त महानगर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ महानगरपालिकाभित्र शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकताका साथ अगाडि बढाउने उनको भनाइ थियो । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाभित्र तीन लाख ४२६ मतदाता रहेका छन् । मुलुककै सबैभन्दा धेरै वडा भएको काठमाडौँमा ३२ वडा रहेका छन् ।