
कामरेड
हेडक्वाटरले खटाए अनुसार
आफ्नो क्षेत्रमा
निर्बाचन अभियान सकेर
हिजो मात्र फर्किएँ
तर राम्रो खबर त
मैले पनि ल्याउन सकिन !
धेरै दिन
गाउँतिर बसेर हो कि
सारै न्यास्रो लागेर आयो
र, आज बिहानै पार्टी केन्द्रमा आइपुगेको छु
तर यता पनि सबै चकमन्न देख्छु
भिडभाड भै रहने
हेडक्वाटरको छत र बार्दलीहरू
आज त खालिखालि देख्छु
छानामाथि फरफराई रहने रातो झण्डा
खुइलिएर पुरै लत्रेको देख्छु
हसियाका दाँत फुक्लेको देख्छु
मार्तलको धार झरेको देख्छु
के भयो कामरेड यस्तो?
कतै यो झण्डा पनि 'सद्भाव भ्रमण'मा पो गा'को थ्यो कि?
हाम्रो टाउको राख्न सिलाएको झोलामा
यो झण्डा पो परेको थ्यो कि?
वा, कामरेडको बाँकी 'इमान'लाई पनि कसैले बैना पो गरि सक्यो कि?
एक पटक भेटेरै कुरा गरौँ न कामरेड
तपाईले बोलिमा नै भए पनि बचाएर राखेको 'महान क्रान्ति'
कसैले किनी पो सक्यो कि?!