काठमाडौं, ३१ असार – नेपाल सरकारका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले केही दिनभित्रै राजीनामा बुझाउने बताएका छन् ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएको एक महिना वितिसक्दा पनि उनले नियुक्त गरेका महान्यायाधिवक्ता श्रेष्ठले राजीनामा नबुझाएको चर्चा चलिरहँदा श्रेष्ठले आगामी केही दिनभित्र राजीनामा बुझाउने बताएका हुन् ।
शनिवार महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७३/७४ –२०७८/७९) को पहिलो वर्षको कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारकै सल्लाहमा आफू महान्यायाधिवक्तामा कायम रहेको जिकिर गरे ।
‘नयाँ महान्यायाधिवक्ताको नियुक्तीका सम्बन्धमा टुंगो लाइनसकेको र उक्त निर्णय नहुञ्जेलसम्मका लागि प्रधानमन्त्रीले कायमै रहन आग्रह गरेकाले मैले राजीनामा बुझाउन नसकेको हो,’ महान्यायाधिवक्ता श्रेष्ठले भने, ‘म कुनै रहरले पदमा टाँसिएर बसेको होईन ।’

गत जेठ १० गते पदबाट राजीनामा दिएका थिए । कानूनी सल्लाहकारका रुपमा नियुक्त हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको राजीनामासँगै आफ्नो पनि राजीनामा बुझाउनुपर्ने परम्परा छ । तर बाध्यात्मक परिस्थितिका कारण आफूले राजीनामा दिन नसकेको श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता श्रेष्ठले सरकारी वकिलको सुदृढिकरण आवश्यक रहेको बताए ।