
रुपन्देहीमा स्थानीय तह निर्वाचनमा उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ ।
मतदाता लाइन लागेर आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन् । मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता छ ।
हालसम्म ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।
रुपन्देहीमा ७०० मतदान केन्द्र र २०८ मतदानस्थल तोकिएका छन् । ६ लाख ३२ हजार ३६० मतदाता रहेको रुपन्देहीमा उत्साह र शान्तिपूर्वक मतदान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
निर्वाचनलाई लक्षित गरेर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै मतदानस्थल, केन्द्रको सुरक्षा र निगरानीसँगै नागरिकलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
जिल्लामा निर्वाचन सुरक्षाका लागि ४ हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएका उनले बताए । नेपाल प्रहरी १ हजार ४००, सशस्त्र प्रहरी ६००, नेपाली सेना ६०० र म्यादी प्रहरी २ हजार ४०० परिचालन गरिएका जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।




