काठमाडौं — रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अहिले विश्वका सर्वाधिक शक्तिशाली नेताका रूपमा हेरिन्छन् । अमेरिकाजस्तो महाशक्तिको राष्ट्रपतीय निर्वाचनमा समेत हस्तक्षेप गर्ने क्षमता भएका पुटिनका बारेमा धेरैमा जिज्ञासा छ ।

पुटिन सोभियत रुसको एक गरीब परिवारमा जन्मेका थिए । आफ्ना मातापिता र भाइबहिनीका साथ उनी एक सामुदायिक भवनमा बस्थे । भ–याङमा मुसा मार्दै बाल्यकाल बितेको उनी बताउँछन् ।
अठार वर्षको उमेरमा नै पुटिनले जुडो खेलमा ब्ल्याक बेल्ट पाएका थिए । अहिले पनि फुर्सदको समयमा उनी मार्सल आर्टको अभ्यास गर्छन् । अर्काले नहेपून् भनेर जुडो सिकेको उनी बताउँछन् ।
पुटिनका दुई छोरी छन् । मारिया पुटिना र तेकातेरिना पुटिना पूर्वी जर्मनीको ड्रेस्डेनमा जन्मेका हुन् । तर पुटिनले छोरीको अस्तित्वलाई रहस्यमा लुकाएर राख्ने गरेका छन् । पुटिनको पारिवारिक तस्वीर अहिलेसम्म सार्वजनिक भएको छैन । मिडियाले पनि उनीहरूको तस्वीर भेटेको छैन ।
रुसी राष्ट्रपति कुकुर पाल्न मन पराउँछन् । जर्मनीकी चान्सलर अंगेला मर्केललाई तर्साउन उनले एकचोटि कुकुर प्रयोग गरेका थिए । सन् २००७ मा मर्केलसँगको कूटनीतिक भेटघाटमा पुटिनले अजंगको कालो कुकुर पनि साथै ल्याएका थिए । मर्केललाई सानै हुँदा कुकुरले टोकेकाले कुकुरसँग डर लाग्ने थाहा पाएरै पुटिनले यसो गरेका थिए भनिन्छ । डरकै सुरमा मर्केलले भनेकी थिइन्, ‘अब यो कुकुरले पत्रकारलाई खाइदिन्छ ।’
सन् २०११ मा पुटिनले कृष्ण सागरमा प्राचीन ग्रिसेली फूलदानहरू भेटेका थिए । तर खासमा अरूले नै भेटेर त्यहाँ राखेका फूलदानी उनले संसारसामु देखाएको कुरा पत्ता लाग्यो ।
सन् २०१० मा पुटिनले अग्निनियन्त्रक विमान उडाएर पश्चिमी रुसको जंगलमा लागेको आगो निभाएका थिए । उनले विमानबाट सयौं लिटर पानी खन्याएका थिए ।
पुटिनका हजुरबुवा स्पिरिदोन इभानोभिच पुटिन लेनिनका भान्से थिए । लेनिनको मृत्युपछि उनले स्टालिनका लागि पनि खाना पकाएका थिए ।
सोह्र वर्षसम्म रुसी गुप्तचर संस्था केजीबीका जासूस थिए पुटिन । उनी पूर्वी जर्मनीमा सन् १९७५ देखि १९९१ सम्म खटिएका थिए । अमेरिकाविरुद्ध जासूसी गर्ने एजेन्टहरू भर्ना गर्ने उनको काम थियो । बर्लिनको पर्खाल भत्काइएपछि उनी रुस फर्केर लेफ्टिनेन्ट कर्नेल भए ।
पूर्वी जर्मनीमा काम गरेको भएर पनि होला, पुटिन मजाले जर्मन भाषा बोल्छन् । अंग्रेजी चाहिँ उनी कनीकुथी मात्र बोल्न सक्छन् ।
रुसमा पुटिनको नामका भोड्का र क्यानमा राखिएका खानेकुरा बेचिन्छन् ।
समलैंगिक विवाहलाई उनी शैतानपूजा मान्छन् ।
उनीसँग खरबौंको सम्पत्ति रहेको छ ।
उनी बेलायती पप संगीत ब्यान्ड बिटल्सका प्रशंसक हुन् ।
पुटिनलाई सुपरहिरो बनाइएको एक कमिक रुसमा लोकप्रिय छ । कमिकमा उनी आतंकवादीहरूसँग लडिरहेका देखिन्छन् ।
आफ्नी पत्नी ल्युड्मिलासँग पुटिनले डिभोर्स लिएका छन् तर उनीहरूबीच खटपट छैन ।
आन्ना च्यापम्यान नाम गरेकी एक जासूस महिलासँग पुटिनको गोप्य प्रेम सम्बन्ध रहेको बताइन्छ ।
एजेन्सी