रुसले लगातार चेतावनी दिइरहेको भए पनि फिनल्यान्डले पश्चिमी सैन्य गठबन्धन नेटोमा जोडिनका लागि आइतवार आधिकारिक घोषणा गरेको छ ।
फिनल्यान्ड नेटोमा जोडिएमा प्रतिकारात्मक कारवाही चलाउने भनी रुसले चेतावनी दिएको थियो ।
राष्ट्रपति तथा मन्त्रीस्तरीय समितिले नेटोमा जोडिने औपचारिक सहमति आज गरेका हुन् ।
सरकारसमक्ष प्रस्तुत गरिन लागेको एक मस्यौदा प्रतिवेदन आजै सार्वजनिक गरिएको छ ।
त्यसमा उल्लेख गरिएको छ, ‘नेटोमा जोडिएर फिनल्यान्डले बदलिएको परिस्थितिमा आफ्नो सुरक्षालाई बलियो बनाउन खोजेको छ । बाल्टिक सागर क्षेत्र तथा उत्तरी युरोपमा स्थिरता र सुरक्षा बलियो बनाउन नेटोमा फिनल्यान्ड जोडिनुपर्छ ।’
राष्ट्रपति साउली नीनिस्तो र प्रधानमन्त्री सान्ना मारिनले राजधानी हेल्सिन्कीमा नेटो सदस्यतामा जाने विषयमा घोषणा गरेका हुन् ।
यस निर्णयलाई फिनल्यान्डको संसद्ले ग्रहण गर्ने अपेक्षा छ ।
त्यसपछि नेटोको प्रधान कार्यालय ब्रसेल्समा निवेदन पेश गरिनेछ ।
रुससँग लामो सीमा जोडिएको फिनल्यान्ड कुनै खेमामा नजोडिएको भए पनि युक्रेनमाथि रुसको आक्रमणपछि यसमा पुनर्विचार गरिरहेको छ ।
फिनल्यान्डलाई चेतावनी दिनका लागि रुसले विद्युत् आपूर्तिमा कटौती गरेको छ ।