
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गुल्मी जिल्लामा ५ पालिका जितेर अग्रता कायम गरेको छ ।
गत निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले तेस्रोमा खुम्चिएको छ । ४ स्थानीय तह जितेर माओवादी केन्द्रले आफ्नो ‘पोजिसन’ बलियो बनाएको छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, नेकपा एसकी सचिव रामकुमारी झाँक्री, नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको गृहजिल्लाका १२ पालिकामा बहुपक्षीय प्रतिष्पर्धा थियो ।
सदरमुकाम तम्घास रहेका रेसुङ्गा नगरपालिका सहित इस्मा, कालीगण्डकी, गुल्मी दरवार र मदानेमा नेपाली कांग्रेस विजयी भएको छ । धुर्कोट, रुरुक्षेत्र, मालिका र चन्द्रकोटमा माओवादी केन्द्र विजयी भएको छ ।
यस्तै मुसिकोट नगरपालिका, छत्रकोट र सत्यावतीमा एमाले विजयी भएको छ ।
इस्मा गाउँपालिकामा नेपाली कांग्रेसका भगतसिंह खड्का विजयी भएका छन् । एमालेका हिराबहादुर अर्याल थोरै मतले पराजित भएका छन् ।
मंंगलवार सार्वजनिक भएको नतिजा अनुसार कालीगण्डकीमा वेदबहादुर थापा पुनः विजयी भएका छन् ।
यसअघि पनि उनी गाउँपालिका अध्यक्ष थिए । एमालेका रामजी ढकाल थोरै मतले पराजित भएका छन् ।
गुल्मी दरवार गाउँपालिकामा एमालेका कृष्ण बहादुर भुसाललाई पराजित गर्दै कांग्रेसका सरोजकुमार थापा विजयी भएका छन् ।
चन्द्रकोट गाउँपालिकामा एमालेका चेतनबहादुर बस्नेतलाई पराजित गर्दै माओवादीका युवराज खत्री विजयी भएका छन् ।
छत्रकोटमा एमालेका रामप्रसाद पाण्डे विजयी भएका छन् । कांग्रेसका अनन्तराम पौडेल पराजित भए । यो कांग्रेस नेता चन्द्र भण्डारीको पालिका हो ।
एमालेसँग अघोषित तालमेल भएको धुर्कोटमा माओवादीका भुपाल पोखरेल विजयी भएका छन् । धुर्कोटमा एमालेले गाउँपालिका अध्यक्ष र माओवादीले उपाध्यक्षमा उम्मेदवारी नदिएर अघोषित तालमेल गरेका थिए । कांग्रेसका महेन्द्र भण्डारी पराजित भए ।
मदानेमा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी, एमालेका प्रेमबहादुर केसी पराजित भएका छन् ।
मालिकामा एमालेका रितबहादुर थापालाइ पराजित गर्दै माओवादीका देवीराम अर्याल विजयी भएका छन् ।
मुसिकोट नगरपालिकामा एमालेका जीवलाल खरेल विजयी भएका छन् । कांग्रेसका हरिनारायण सापकोटा पराजित भए । एमाले उपमहासचिव प्रदीप ज्ञवालीको पालिका रहेको रुरुक्षेत्र गाउँपालिकामा माओवादीका यदु ज्ञवाली विजयी भएका छन् । एमालेका हिमाल श्रेष्ठ पराजित गर्दै ३२ वर्षीय युवा ज्ञवाली विजयी भए ।
रेसुङ्गा नगरपालिकाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी विजयी भए । एमालेका राजेन्द्र प्रसाद पाण्डे पराजित भए । पन्थी कांग्रेसको जिल्ला सभापति हुन् ।
सत्यावती गाउँपालिकामा कांग्रेसका पारिश्वर ढकाललाई पराजित गर्दै एमालेका टीकारमा पाण्डे विजयी भएका छन् । मंगलवार बिहानसम्म सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।