२९ जेठ २०८३, शुक्रबार

स्थानीय चुनावबाट दलका हैसियत अदलबदल !

जेठ ६, २०७९
स्थानीय चुनावबाट दलका हैसियत अदलबदल !

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको आउँदै गरेको मतपरिणामले दलहरूको स्थानीय तहको विगतको हैसियत नै अदलबदल गरिदिएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले यसपटकको हालसम्म प्राप्त मत परिणामअनुसार दोस्रो स्थानमा झर्ने देखिएको छ ।

यसअघि दोस्रो दलको हैसियतमा रहेको दल नेपाली कांग्रेस यसपटक एक स्थानमाथि उक्लिएर पहिलो दल बन्ने सुनिश्चित भइसकेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले २९४ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत निकालेर पहिलो दल बनेको थियो भने कांग्रेस २६६ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत निकाल्दै दोस्रो बनेको थियो । 

नेकपा माओवादी केन्द्र त्यसबखत १०६ स्थानमा प्रमुख/अध्यक्षमा जीत निकालेर तेस्रो हैसियतमा रहँदा संघीय समाजवादी फोरम र मधेशवादी दलका रूपमा रहेको जसपालगायतका दल त्यसपछिको हैसियतमा थिए ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले ३४ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत हात पारेको थियो । त्यसबखत सो दल स्थानीय तहमा चौंथो बनेको थियो ।

तत्कालीन राजपा नेपालले २५ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत निकाल्दा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले ५ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत हात पारेको थियो । सो दल अहिले नेपाली कांग्रेससँग एकता गरिसकेको छ ।

यसपटकको निर्वाचनमा भने कांग्रेसले आफ्नो हैसियतमा सुधार गर्दा एमालेलाई धक्का पुगेको छ । कांग्रेस सत्ता गठबन्धनमा रहेर निर्वाचनमा होमिँदा विभाजनमा परेको एमालेलाई त्यसको असरले क्षति पुर्‍याएको छ भने गठबन्धनमै रहेको दल माओवादी केन्द्रले पुरानो हैसियतलाई सुधार गरी तेस्रो स्थानलाई सुरक्षित गर्दै अंक बोनस थपेको छ । मधेशवादी दलहरू यसबीचमा भएको टुटफुटले छिन्नभिन्न हुँदा त्यसको असर अहिलेको स्थानीय तहको परिणाममा देखिँदै गएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन सफल भएको बताए । बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको भनेका हुन् ।

‘स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन सफल भयो, गठबन्धनभित्र आंशिक रूपमा कमीकमजोरी भए पनि त्यसलाई हामी सच्याउँछौं, समीक्षा गर्छौं,’ पौडेलले भने ।

बिहीवार राति अबेरसम्मको परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ६७ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जीत हात पारेको छ भने ५६ स्थानीय तहमा अग्रता लिएको छ । यो अग्रता हेर्दा कांग्रेसले ३१५ भन्दा बढी स्थानीय तहमा जीत निकाल्ने देखिएको छ ।

नेकपा एमालेले १ सय ६८ तहमा प्रमुख/अध्यक्षमा जीत हात पार्दा ३० स्थानीय तहमा अग्रता लिएको छ । यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतभन्दा करीब ९० देखि ९५ स्थानीय तह गुमाउने देखिएको छ ।

विगतको स्थानीय तह निर्वाचनमा १०६ तह जित्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बिहीवार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १०७ वटा स्थानीय तहमा जित निकालिसकेको छ भने १३ स्थानीय तहमा अग्रता लिएको छ ।

स्थानीय तहमा चौथो दलको हैसियतमा भने जनता समाजवादी पार्टी नेपालको सम्भावना बढेको छ । राति अबेरसम्मको परिणामअनुसार जसपाले १७ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको छ भने १८ तहमा अघि छ ।

नेकपा एसले १४ तहमा प्रमुख/अध्यक्ष जितेको छ भने ५ तहमा अग्रता छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ तहमा जीत निकाल्दा ८ तहमा अग्रता लिएको छ भने अन्य २३ साना दलले स्थानीय तहमा सिट सुरक्षित गर्दै गर्दा १० स्थानीय तहमा ती दलको अग्रता छ ।

राति अबेरसम्मको परिणामअनुसार कांग्रेसबाट २४५ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष निर्वाचित भइसकेका छन् । ५५ तहमा उपप्रमुख/उपाध्यक्ष पदमा कांग्रेस अघि छ ।

१८३ स्थानीय तहमा एमालेका उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । यसैगरी ५० तहमा एमालेको अग्रता छ ।

नेकपा माओवादी केन्द्रका ११५ जना उपप्रमुख/उपाध्यक्ष विजयी बन्दा १२ स्थानमा अग्रता छ । नेकपा एसका १८ उपप्रमुख/उपाध्यक्ष निर्वाचित बन्दा ५ तहमा सो पदमा अग्रता छ । जसपा नेपालले स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष पदमा १६ स्थानमा जीत निकालेर १४ तहमा सो पदमा अग्रता लिएको छ ।

लोसपाले उपप्रमुख/उपाध्यक्षमा ५ तहमा जितेको छ भने ५ तहमा नै अघि छ । अन्य दलका १५ उपप्रमुख/उपाध्यक्षमा निर्वाचित बन्दा २ तहमा अग्रता छ ।

स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्