
रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्ससँग चरा ठोक्किएको आशंका गरिएको छ ।
सावधानी अपनाउँदै राति नै फिर्ता जानुपर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन ।
जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको विमानस्थलले जानकारी दिएको छ ।
विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जहाजको बाहिरी भागमा रगत देखिएको छ। तर, रनवेमा कतै चरा देखिन्न ।
'पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोक्किएको आशंका गरेका छन् । तर रनवेमा देखिनुपर्ने चरा देखिएन,'साहले भने,'चरा कतै इन्जिनमा त गएन भनेर जहाज यहीँ होल्ड गरिएको छ ।'
१२१ जना यात्रु बोकेर जजिरा एयरलाइन्स आएको थियो ।
काठमाडौंबाट प्राविधिक आएर इन्जिनको चेकजाँच गरे पछि मात्र जजिराले यहाँबाट उडान भर्न सक्ने साहले जनाए ।
भैरहवा विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरलाइन्सले साताको ३ उडान गरिरहेको छ ।