३१ असार २०८३, बुधबार
ओलीको बोली

संसदीय दलमा ओलीको विश्लेषणः स्थानीय चुनावमा अन्तर्घात भयो, संसदीय चुनावबाट पहिलो दल बन्छौं

संसदीय दलमा ओलीको विश्लेषणः स्थानीय चुनावमा अन्तर्घात भयो, संसदीय चुनावबाट पहिलो दल बन्छौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैको अन्तर्घातका कारण स्थानीय तहको चुनावमा पार्टी पराजित भएको बताएका छन् । 

बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा उपमेयर र सदस्यलाई भोट हाल्ने तर मेयरलाई भोट नहाल्ने प्रवृत्ति देखापरेको बताएका थिए ।

ओलीले बैठकमा निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित, निष्पक्ष हुनुपर्नेमा त्यसको ठीकविपरीत भएको निष्कर्ष सुनाएको बैठकमा सहभागी एमालेका केन्द्रीय सदस्य तथा सांसद शेरबहादुर तामाङले बताए ।

‘चुनाव निष्पक्ष भएन । सत्तापक्षले एकतर्फीरुपमा खोसेको जस्तो भयो । यद्यपि जनताले दिएको लोकप्रिय मतको आधारमा एमाले अहिले पनि पहिलो पार्टी नै छौं, आगामी निर्वाचनमा पहिलो पाटी नै बन्छौं,’ ओलीलाई उद्धृत गर्दैै तामाङले भने । 

महानगर र उपमहानगरमा एमाले हार्नुमा आन्तरिक कारण मुख्य रहेको पनि ओलीले बैठकमा बताएका छन् । 

‘उपमेयरसहित सेटमा भोट हाल्ने तर मेयरमा भोट नहाल्ने अवस्था देखियो । नेतृत्वमा भोट नहाल्ने प्रवृत्ति चाहिँ एमालेमा खतरनाक रुपमा देखिएको र त्यसलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने भएको अध्यक्षले बताउनुभयो,’ तामाङले भने ।

यसबारेमा तथ्यांक संकलनका लागि फर्म्याट नै बनाएर वडा कमिटीसम्म पठाइसकेको उनले बताए । 

धैरै ठूलो घेराबन्दीका बीचमा पाएको नतिजा सन्तोषजनक नभए पनि आगामी निर्वाचनबाट एमाले पहिलो दल बन्ने गरी एकजुट भएर लाग्नुपर्ने ओलीले बताएका छन् । 

त्यसबाहेक ओलीले संसद् बैठकमा व्यवस्थित र तर्कयुक्तरुपमा नीति तथा कार्यक्रमको चिरफार गर्न निर्देशन ओलीले एमाले सांसदलाई निर्देशन दिएका छन् । 

सरकारले नीति समावेश नगरेर कार्यक्रम मात्रै ल्याएको र त्यो पनि अहिलेको देशको अवस्था झल्किने प्रकृतिको नभएको ओलीको टिप्पणी गरेको एमाले नेता तामाङले बताए ।

नीति तथा कार्यक्रमबाट गठबन्धनले नयाँ भिजन दिन नसकेको, गोलमटोल ढंगले आएको ओलीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्