
स्थानीय तह निर्वाचन सम्पन्न भएको ठीक ११ दिन पुगेको छ । यसबीचमा लुम्बिनी प्रदेशका २ पालिकाबाहेक अन्य सबैको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगको नतिजाअनुसार लुम्बिनी प्रदेशमा ४६ पालिका जितेर कांग्रेस पहिलो शक्ति बनेको छ ।
१०९ पालिका रहेको लुम्बिनी प्रदेशमा गत निर्वाचनमा ४३ पालिका जितेर पहिलो शक्ति बनेको एमालेले अहिले माओवादी केन्द्रकै हैसियतमा झरेको छ । प्राप्त नतिजाअनुसार लुम्बिनीमा प्रदेशमा अहिले एमालेले २६ र माओवादीले २५ पालिका जितेको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रदेशमा जम्मा १९ पालिका मात्र जितेको थियो ।
आफ्नो किल्ला समेत गुमाउँदै एमालेले यसपटक १७ पालिका गुमाएको छ । उपप्रमुख/उपाध्यक्ष भने एमालेले ३८ पालिकामा जितेको छ । निर्वाचन आयोगको परिणामअनुसार एमालेले ८ नगरपालिका र १८ गाउँपालिका जितेको छ । माओवादीले ३ नगरपालिका र २२ गाउँपालिका जितेको छ ।
अघिल्लो निर्वाचन २०७४ मा ३३ पालिका मात्र जितेको कांग्रेस यसपटक ठूलो शक्ति आर्जन गर्दै १९ नगरपालिका र २७ गाउँपालिका जितेर पहिलो शक्ति बनेको छ भने साना दलले पनि शक्ति बढाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले बाँके, रुपन्देही र कपिलवस्तु गरी ३ पालिका जितेको छ । राष्ट्रिय जनमोर्चाले २ पालिका अर्घाखाँची र प्यूठानमा जितेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २, राप्रपाले १, प्रगतिशील जनता पार्टीले १ पालिकामा जीत निकालेका छन् ।
एमालेले गुमायो शहरी जनमत
मतपरिणाम हेर्दा विकसित र शहरी क्षेत्रका एमाले किल्लाहरू यसपटक भत्किएका छन् । दाङका २ उपमहानगरपालिका घोराही र तुलसीपुर बाहेक एमालेका सबै किल्लाहरू गठबन्धनले खोसेको छ । मधेश बहुल क्षेत्रमा एमालेले केही उपस्थिति बढाएको देखिन्छ । उपमेयर र उपप्रमुखमा भने एमालेको उपस्थिति बढी देखिन्छ । बुटवल उपमहानगरमा विरासत गुमाउँदै एमालेले ८ हजार मतान्तरले हार व्यहोर्नुपरेको छ ।
बाँके र रुकुमपूर्वमा एमाले ‘क्लीन स्वीप’
अघिल्लो निर्वाचनमा बाँकेका ४ पालिका जितेको एमाले यसपटक ‘क्लीन स्वीप’ भएको छ । अघिल्लो निर्वाचनमा वर्चस्व रहेको जिल्ला एमालेले गुमाउन पुगेको छ । ८ पालिकामध्ये ४ वटा जितेर पहिलो बनेको एमाले यसपटक प्रमुख/उपप्रमुखमा शून्य बन्न पुगेको छ । एमालेले ८१ वडामध्ये २१ वटा मात्र जितेको छ ।
रुकुम पूर्वमा पनि एमालेले कुनै पालिका जित्न सकेन । जिल्लाका ३ वटै पालिकामा माओवादी केन्द्रले जीत निकाल्यो । रुकुमपूर्व र रोल्पामा पनि कांग्रेसले सफलता हाँसिल गर्न सकेन । अर्घाखाँची र पाल्पामा तालमेल गरेको गठबन्धनलाई एमाले एक्लैले पराजित गरी ठूलो जीत निकालेको छ ।
निर्वाचनमा केही कमजोरी भएकै हुन्– अध्यक्ष कंडेल
नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले निर्वाचनमा केही कमजोरी हुँदा सहजै जित्न सकिने पालिकाहरू पनि गुमाउन पुगेको बताए । ‘बुटवल, तानसेन, कोहलपुर जस्ता शहर सहज जितिन्छ भनेर हल्का रूपमा लिइयो,’ कंडेलले लोकान्तरसँग भने, ‘त्यो हाम्रो कमजोरी भयो । त्यसमाथि गठबन्धनले गर्दा पराजय भयो । जनमतको हिसाबले हामी कमजोर भएका छैनौं ।’
कंडेलले थपे, ‘अब आउँदो निर्वाचनमा केन्द्रित भएर संगठन र कार्यकर्ताको भावना अनुसार अगाडि बढ्नुपर्ने देखिन्छ । संगठनात्मक हिसाबले शक्तिशाली एमाले कमजोर देखियो । सिट संख्यामा पनि हारेको नतिजाले देखाउँछ ।’
माओवादीले विगतको नतिजामा सुधार गर्यो– बराल
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले समग्रमा लुम्बिनी प्रदेशमा सुधार गरेको बताए । विगतभन्दा सुधार गरे पनि गुणात्मक प्रगति चाहिँ हुन नसकेको उनले बताए ।
‘हामीले लुम्बिनीका ३० पालिका जित्छौं भनेका थियौं तर हामी २५ पालिका जितेका छौं । घोराही उपमहानगरपालिका गुमायौं । त्यहाँ कांग्रेसको अन्तरविरोध र मतदाता शिक्षामा हामीले प्रभावकारी ढंगले लैजान नसक्दा गुमेको हो । तुलसीपुर पनि त्यहीँ अवस्थामा गुम्ने स्थितिमा देखियो,’ बरालले थपे, ‘समग्रतामा लुम्बिनी प्रदेशमा गठबन्धन सफल भएको छ । केही कमजोरी पक्कै भए । यो नतिजालाई सन्तोषजनक मान्नुपर्छ हामीहरूले ।’
गठबन्धनले फाइदाभन्दा बेफाइदा भयो– सभापति पुन
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर पुन मगरले गठबन्धनले फाइदाभन्दा बेफाइदा भएको बताए । ‘दाङ, रोल्पा जस्ता ठाउँमा अत्याधिक मत बदर भएर हाम्रा उम्मेदवार हारे । गठबन्धन केन्द्रबाट लादियो तर कार्यकर्ताको मन मिलेन, त्यसैले जित्नुपर्ने स्थान पनि गुमे,’ पुनले लोकान्तरसँग भने, ‘सन्तोषजनक नतिजा आए पनि कांग्रेस एक्लैले जित्ने ठाउँ गठबन्धन गर्दा हार्ने अवस्था भयो । उम्मेदवार नै नभएको ठाउँमा कार्यकर्ताले भोट हालेर अत्याधिक मत बदर भयो । यसमा निर्वाचन आयोगले पनि हामीलाई अप्ठ्यारो पारेकै हो ।’