
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच बिहीवार मन्त्रालयमा भेटवार्ता भएको छ ।
मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको सेफ्टी लिस्ट (प्रतिबन्ध) बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिए ।
भेटवार्ताका क्रममा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले नेपालको उडान सुरक्षाका ८ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०.१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकाले नेपाली आकाश सुरक्षित रहेको बताए ।
उनले भने, ‘आइकाओको नतिजाअनुसार नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाल ईयूको प्रतिबन्ध सूचीबाट हट्नुपर्छ ।’
८ वर्षअघि ईयूले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्यांकन गर्दै कालोसूचीमा राखेको हो । उता नेपालले हवाई सुरक्षाका क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइसकेको छ । ईयूले नेपालको हवाइ क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो ।
भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई. प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको जानकारी पनि दिएका थिए ।
हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी ३ वटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि ईयूको कालोसूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था नभएको बताइएको छ ।