
विभाजनको मारका परेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको १३ औं पूर्ण बैठक उदयपुरको रौतापोखरीमा शुरू भएको छ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेकपाको १३ औं पूर्ण बैठक बसेको हो ।
बैठकमा सहभागी हुन आएकालाई नेकपाका स्थानीय कार्यकर्ताले स्वागत गरेका थिए ।
पार्टी प्रवक्ता खड्गबहादुर विक प्रकाण्डले सार्वजनिक गरेको एक तस्वीरमा विप्लवलाई फूल दिन लाइनमा बसेका एक कार्यकर्ताले खुट्टामा दुई थरी चप्पल लगाएको देखिन्छ । ढाकाटोपी लगाएर विप्लवलाई फूल दिन लाइनमा बसेका ती कार्यकर्ताको खुट्टामा रातो र हरियो दुईथरी चप्पल देखिन्छ ।
सर्वहाराको मुक्तिका लागि भन्दै विगतमा सशस्त्र संघर्ष गरेको माओवादी पार्टीका नेताहरू सुविधाभोगी बन्दै गएको कार्यकर्ताले आरोप लगाउने गरेका छन् । विदेशी ब्राण्डका कपडा लगाउने, महँगा गाडी चढ्ने गरेको भन्दै कार्यकर्ताले नेताको आलोचना गरेको पाइन्छ ।
अपरिचित नेकपाका ती कार्यकर्ताको खुट्टामा देखिएको दुईथरी चप्पलले नेपालको गरिबीलाई समेत चित्रित गरेको छ ।