२९ असार २०८३, सोमबार
सम्पर्कविहीन जहाज

हराएको साढे ५ घण्टासम्म पनि भेटिएन जहाज, बाधक बन्यो प्रतिकूल मौसम

हराएको साढे ५ घण्टासम्म पनि भेटिएन जहाज, बाधक बन्यो प्रतिकूल मौसम

पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको साढे ५ घण्टा हुँदासमेत भेटिएको छैन । 

प्रतिकूल मौसमका कारण सम्भावित स्थानहरूमा खोजी कार्य जारी रहे पनि हराइरहेको विमान साढे ३ बजेसम्म नभेटिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले हराएको भन्ने अनुमान गरिएको ठाउँसम्म खराब मौसमका कारण खोजी कार्यमा परिचालन भएको नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टर पुग्न नसकेको बताएका छन् । 

खोजी कार्यमा परिचालन गरिएको हेलिकप्टरलाई जोमसोममा 'डाइभर्ट' गरेर तयारी अवस्थामा राखिएको उनको भनाइ छ । अर्कोतर्फ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई स्थलगतसमेत परिचालन गरिएको उनले बताए । 

महाप्रबन्धक ठाकुरका अनुसार पाइलटको मोबाइलमा फोन गर्दा फोन लागे पनि फोन उठिरहेको छैन । 'करीब साढे १ बजे हामीले पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गर्दा फोनको रिङ बजेको थियो, तर फोन उठेको छैन,' ठाकुरले लोकान्तरसँग भने, 'नेपाल टेलिकमबाट उक्त मोबाइलको लोकेसन माग्दा मुस्ताङको टीटी देखाएको छ ।' तर, त्यसतर्फ मान्छे पठाउँदा भने विमान नदेखिएको उनले बताए ।  

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा अहिलेसम्म पनि जहाज सम्पर्कविहीन रहेको बताउँछन् । कुन ठाउँमा जहाज हराएको हो भन्ने कुरा नै अहिलेसम्म यकीन हुन नसकेको उनले बताए ।

मुस्ताङको आकाशमा आएर विमान सम्पर्कविहीन भएकाले सम्भावित सबै ठाउँमा खोजी कार्य जारी रहेको उनको भनाइ छ । 'खास गरेर उपल्लो र तल्लो क्षेत्र सबै ठाउँमा खोजी कार्य जारी छ,' उनले लोकान्तरसँग भने, 'बिहानैदेखि कुहिरोले ढाकेर मौसम प्रतिकूल भएको हुनाले पनि खोजी कार्यमा समस्या भइरहेको छ ।'

आज बिहान ९:५५ मा पोखराबाट उडेको तारा एयरको जहाज १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । जहाजमा चालक दलका ३ सदस्यसहित १९ यात्रु छन् । विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन छ ।
 

salt training

कमेन्ट गर्नुहोस्