
दक्षिण अमेरिकी मुलुक कोलम्बियामा आइतवार राष्ट्रपति निर्वाचन हुँदैछ ।
यस चुनावमार्फत देशको इतिहासमा पहिलोपटक वामपन्थी राष्ट्रपति छानिन सक्ने आकलन गरिएको छ ।
वामपन्थी उम्मेदवार गुस्ताभो पेट्रो चुनावअघिका सबै सर्वेक्षणमा छाएका छन् । अनुदारवादी मुलुक कोलम्बियामा उदारवादी वामपन्थी नेताको यो लोकप्रियता आश्चर्यजनक छ ।
पेट्रो ६२ वर्षीय पूर्व गुरिल्ला हुन् । उनी राजधानी बोगोटाको मेयर रहिसकेका छन् ।
आइतवारको निर्वाचनमै ५० प्रतिशतभन्दा बढी भोट ल्याएर दोस्रो चरणमा लडिरहनु नपर्ने आशा उनले गरेका छन् ।
उपराष्ट्रपतिमा लडिरहेकी फ्रान्सिया मार्केज देशकी पहिली काला जातिकी महिला उपराष्ट्रपति बन्ने आशा गरिरहेकी छन् ।
पेट्रोका प्रतिद्वन्द्वी फेडेरिको गुटिएरेज मेडेलिन शहरका पूर्व मेयर हुन् । उनी दक्षिणपन्थी दलहरूको गठबन्धनका उम्मेदवार हुन् । अहिले उनी सर्वेक्षणहरूमा २५ प्रतिशत मात्र लोकप्रिय देखिएका छन् भने पेट्रोको ४० प्रतिशत छ ।
गुटिएरेजलाई बहालवाला राष्ट्रपति इभान डुकुको समर्थन छ तर कम समर्थन सूचकांक भएका नेताको समर्थनले गुटिएरेजलाई कत्तिको फाइदा होला भनी हेर्न बाँकी छ ।
निर्वाचनमा तीन करोड ९० लाख मतदाता छन् । दोस्रो चरणको निर्वाचन हुने स्थिति आएछ भने त्यो जुन १९ मा गरिनेछ ।