
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट स्वागतयोग्य भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै लामो समय कोरोना महामारीबाट थलिएको नेपाली उद्योग व्यवसाय क्षेत्र र आम जनताका लागि समग्रमा बजेट समग्रमा सकारात्मक रहेको बताएको हो ।
महासंघले प्रेस वक्तव्यमा भनेको छ,'बजेटले औल्याएका केही विषयहरु सकारात्मक रहेको र केही कुराहरु पर्याप्त नरहेपनि समग्रमा बजेट सकारात्मक रहेकाले महासंघ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको स्वागत गर्दछ।'
महासंघले सरकारले करको दरमा गरेको फेरवदल तथा कृषि क्षेत्रको विकास र विस्तारका लागि बजेटमा समावेश गरिएको विषयहरू एकदमै सकारात्मक रहेको बताएको छ ।
'सबैभन्दा खुसीको कुरा त देशलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटमार्फत सरकारले पहलकदमीको सुरुवात गरेको छ । कृषि क्षेत्रको उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउन गरिएको प्रयास सकारात्मक र स्वागत योग्य कुरा हो,' महासंघले भनेको छ ।
महासंघले विलासिताका वस्तु आयातमा कडाइ गर्नु राम्रो भएपनि अत्यावश्यक वस्तुहरूको आयातमा कडाइ गर्न नहुने धारणा राखेको छ ।
महासंघले समग्रमा बजेट राम्रो भएको तर कार्यन्वयन हुनेमा भने शंका रहेको बताएको छ ।
महासंघले बजेट कार्यन्वयन राम्रोसँग गर्न सरकारलाई आग्रह गरेको छ ।