०८ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

पहिलो ‘लाइभ’ बैठकमा बालेनलाई वडाध्यक्षले भने–सिकेर आउनुस्

पहिलो ‘लाइभ’ बैठकमा बालेनलाई वडाध्यक्षले भने–सिकेर आउनुस्

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैंझै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई एक वडाध्यक्षले बैठक चलाउन सिकेर आउन भनेका छन् । बैठक सञ्चालनका सन्दर्भमा प्रक्रिया नमिलेको भन्दै वडाध्यक्षहरुले सोमबारको नगरकार्यपालिकाको बैठकमा विरोध जनाएका थिए । सो क्रममा वडा नम्बर ७ का अध्यक्ष बिमल कुमार होडाले पहिला प्रक्रिया सिकेर आउन भनेका हुन् । 

उनले भने, ‘प्रक्रियागत कुरा पनि भयो । प्रस्ताव गर्ने, समर्थन गर्ने अनुमोदन गर्ने माइन्युटिङ कसरी गर्ने, त्यो नै सिक्नुपर्ने भयो । बैठकको प्रक्रियालाई चाहिँ अध्ययन गर्नुस् । बैठक कसरी चलाउने त्यो चाहिँ तपाईँले परामर्श गरेर आउनुपर्यो ।’
बैठकमा साहले पेश गरेका ७ एजेण्डा प्रमुख प्रशासकीय अधिकृतले नै पास गर्न लागेपछि प्रक्रिया नमिलेको भन्दै वडाध्यक्षहरुले सवाल जवाफ गरेका हुन् । वडाध्यक्षको विरोधपछि मेयर साहले गल्ती सच्याउँदै आफैँले प्रस्ताव गरेर वडाध्यक्षहरुलाई टेबल थटाएर पास गर्न दिएका थिए । उक्त बैठक ‘लाइभ’ गरिएको थियो । साहले बैठकहरु गोप्य नहुने भन्दै जनतालाई ‘लाइभ’ देखाउने बताउँदै आएका छन् । 
यसैबीच कार्यपालिकाबाट फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न बालेन्द्र साहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । 

त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरिएको छ । सहकार्य गरिने रेष्टुराँ र पेट्रोल पम्पमा कामपाले सङ्केत चिह्न राखिनेछ र ती स्थानका शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।  

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने भएको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्नका लागि कल सेन्टरको स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सक्नका लागि दुई भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । 
यसअघि सोमबार नै साहलगायतका जनप्रतिनिधिहरले पद तथा गोपनीयताको सपथ लिएका थिए । साह स्वतन्त्रबाट काठमाडौंको मेयर निर्वाचित भएका हुन् । 
००००
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव सोमबार साँझ काठमाडौँमा ल्याइएको हो । 

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । अरु शव मंगलबार ल्याइनेछ।  
००००
सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशन प्रदेशसभा भवन धनगढीमा सोमवार शुरू भएको छ । अधिवेशनको पहिलो दिन सोमवारको बैठकमा विशेष समय लिएर प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले आर्थिक वर्ष २०७९–८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गरे । यस्तै नीति तथा कार्यक्रम बागमती र प्रदेश १ मा पनि आएको छ ।
००००
त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी महेश्वरी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९१८ मत र माओवादी केन्द्रकी गीता खड्काले ६ हजार ५६८ मत प्राप्त गरेकी छन् । यससँगै ७५२ स्थानीय तहको नतिजा आएको छ ।
००००
पाँच दलीय गठबन्धनको बैठकमा भएको सहमतिलाई कार्यान्वयन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीलाई सर्कुलर पठाएका छन् । प्रचण्डले सोमबार पठाएको सर्कुलरमा अब सम्पन्न हुने जिल्ला समन्वय समिति तथा पालिका कार्यपालिका निर्वाचनमा सहमतिअनुसार अघि बढ्न निर्देशन दिएका हुन् । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनको बीचमा सहमति गरी अघि बढ्न आ–आफना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय गरेको थियो । 
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । मेयरको शपथ लिएर कार्यभार सम्हालेसँगै सैनिक मुख्यालय जंगीअड्डा पुगेर उनले प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् । 
भेटमा मेयर साहले विपत व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएकोयोगदानको प्रशंसा गरेका थिए । साथै प्रधानसेनापति शर्माले मेयर साहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
००००
सरकारले पूर्वाधार कर हटाएर पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमवार आगामी आर्थिक वर्ष २०७९–८० को बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्म्मेलनमा बोल्दै पेट्रोलको मूल्य घटाइने जानकारी गराएका हुन् । 

शर्माले बजेट पूर्वाधारको पाटो मात्रै नभएर देश विकासको पनि पाटो भएको बताएका छन् । ‘धेरैलाई आ(आफ्नो गाउँको बाटो र्पयो कि परेन भन्ने छ, तर बजेट देशकै विकासको पाटो हो नि,’ उनले भने । बजेटलाई अन्तर्राष्ट्रियरूपमा विकसित भएको प्राविधिक र आयातको अवस्था, मुद्रा स्फीतिसहितलाई ध्यान दिएर बजेट बनाइएको मन्त्री शर्माले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्