३१ असार २०८३, बुधबार

जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव काठमाडौं ल्याइयो

जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव काठमाडौं ल्याइयो
फाइल फोटो

प्रतिकूल मौसमका कारण आइतवार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा ज्यान गुमाएका १० जनाको शव सोमवार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शव अहिले नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । 

उनका अनुसार काठमाडौं ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सोमवार नै विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनीयर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनीयर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा अझै पनि कुहिरो लागेको बताइएको छ । आइतवार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो ।

पोखराबाट आइतवार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । 

जहाजमा चालक दलका तीनजना क्याप्टेन प्रभाकर घिमिरे सहचालक उत्सब पोख्रेल, परिचालिका किस्मि थापासहित नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुसोत्म गोले, राजनकुमार गोले, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तमाङ, राममाया तमाङ, सुकमाया तमाङ, तुलसादेवी तमाङ रहेका थिए । जहाजमा भारतीय नागरिकमा भाइ भाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, रितिका त्रिपाठी रहेका थिए ।

यसैगरी जर्मन नागरिकमा मेकग्रीफ्ट ग्राफ तथा वइ वइल्नर सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्