
नेपाल टेलिकमले आफ्नो मोबाइल एपमा सेवाग्राहीहरूका लागि उपयोगी हुने सुविधाहरू प्रयोग गर्न सकिने गरी अपडेट गरेको छ ।
नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिले देखि नै विभिन्न सुविधाहरू प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको टेलिकमले जनाएको छ ।
यस्तै ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने टेलिकमको भनाइ छ ।
त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन् । यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने छ ।
फाइबर टु द होम अर्थात एफटीटीएच प्रयोगकर्ताहरूले एपमार्फत एफटीटीएचको सिपिई रिस्टार्ट गर्न, वाईफाईको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महसुल तिर्न सकिनेछ । नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ ।
नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरू अपडेट युजर केवाईसी मार्फत नवीकरण गर्न सकिने छ । त्यसैगरी डिलरहरूले एमपोससमेत लगइन गर्न सकिने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई समय समयमा परिमार्जन गरी सेवाग्राहीहरूको लागि उपयोगी विशेषताहरू थप गर्दै नयाँ रुपमा प्रस्तुत गर्ने गरेको छ ।
एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाहरूको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरू उपभोग गर्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरू खरिद गर्न र प्याकेजको अवस्था वारेमा सहजरुपमा जानकारी प्राप्त गर्न सकिन्छ ।
यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरू उपहारको रुपमा पठाउन सकिन्छ ।
त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिसको प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरूमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरूको बिल तिर्न पनि सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरूको महसुल दरबारे जानकारी लिन पनि सकिन्छ ।
यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरू डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ ।
यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न शुरूआतमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नुपर्दछ ।
नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि एप चलाउन सकिन्छ । पहिलो पटक एप डाउनलोड गर्दा ५ सय एमबी डाटा समेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा कम्पनीले उपलब्ध गराइरहेको छ ।
यो एपमा लगइन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो बारे जानकारी प्राप्त गर्न सकिन्छ ।
पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद कार्य यो एपबाट सहज भएको छ ।
अहिले टेलिकम एप प्रयोग गर्ने सेवाग्राहीहरूको संख्या बढ्दै गइरहेको टेलिकमले जनाएको छ ।