०२ साउन २०८३, शनिबार
संगीत

तीजको चटारोमा कलाकार : स्टुडियोमा धमाधम गीतको रेकर्डिङ, भिडियो छायांकनको तयारी

कोरोनाले प्रभाव पारेको २ वर्षपछि विदेशमा तीज विशेष कार्यक्रम तय
जेठ २१, २०७९
तीजको चटारोमा कलाकार : स्टुडियोमा धमाधम गीतको रेकर्डिङ, भिडियो छायांकनको तयारी

हरेक वर्षजस्तै यस वर्ष पनि तीज गीतका लागि कलाकारहरूको तयारी शुरू भएको छ । तीज आउन झण्डै ३ महिना बाँकी हुँदा कलाकारले अहिलेदेखि नै गीत ल्याउनका लागि कसरत शुरू गरेका छन् । 

गीतकारहरू तीज गीतको लेखनमा छन् भने संगीतकारहरू संगीत सिर्जना गर्नमा लागेका छन् । यता गायक/गायिकाहरू तीज गीत रेकर्डिङ गर्ने तरखरमा छन् ।

केही गायक/गायिकाले भने यसवर्षका लागि तीज गीत रेकर्डिङ समेत गरिसकेका छन् । गायिका मञ्जु पौडेलले ३ दिनअघि ‘तीज २०७९ को तयारी’ भन्दै रेकर्डिङ स्टुडियोमा खिचाएका ३ तस्वीर फेसबूकमा पोस्ट गरेकी छन् । उनले यस वर्षका लागि तीज गीत रेकर्ड गराएकी छन् ।

‘अब तीज गीत रेकर्डिङको काम शुरू भएको छ । मैले आमाको सम्झनामा तीज गीत गाएकी छु । रेकर्डिङ भए पनि भिडियो सार्वजनिक हुन समय लाग्छ,’ गायिका पौडेलले भनिन् । उनले केही दिनमा गायक सन्तु थापासँग तीज गीतको रेकर्ड गर्ने जानकारी दिइन् । पौडेल र थापाले हरेक वर्ष तीज गीतमा सहकार्य गर्दै आएका छन् ।

गायक पशुपति शर्माले आफूले गाउने प्रायः गीत आफैं सिर्जना गर्दै आएका छन् । यस वर्षका लागि उनले तीज गीत सिर्जना गरिसकेका छैनन् । यद्यपि अब तयारीमा लाग्ने उनले बताए । शुक्रवार बागलुङमा रहेका पशुपतिले लोकान्तरसँग टेलिफोन वार्तामा भने, ‘शनिबार काठमाडौं फर्किन्छु । त्यसपछि बल्ल तीज गीतको तयारीमा लाग्छु ।’

पछिल्ला वर्ष हिट तीज गीत दिइरहेका गायक खेम सेञ्चुरीलाई भने तीज गीतको चटारोले छोइसकेको छ । उनले आधा दर्जन गीत रेकर्ड गराइसकेका छन् । 

शुक्रवार दिउँसो तीज गीत रेकर्डिङकै क्रममा रहेका खेमले भने, ‘तीज गीतको तयारी शुरू भइसकेको छ । मैले ६–७ वटा गीत रेकर्डिङ गरिसकेको छु ।’ 

गायिका राधिका हमालले पनि तीज गीत रेकर्ड गराइसकेकी छन् । ‘३ वटा रेकर्ड गराएकी छु । आफ्नो तीज गीत पनि बनाउँदैछु,’ हमालले भनिन्, ‘अरु केहीसँग पनि कुरा भइरहेको छ ।’

अनामनगरस्थित उनको आफ्नै स्टुडियो ‘म्युजिक बैंक नेपाल रेकर्डिङ स्टुडियो’मा पनि नियमितजसो तीज गीत रेकर्डिङको काम हुन थालेको छ ।

‘सोचेझै जिन्दगी रैनछ’, ‘लरीलरीलै’ जस्ता हिट तीज गीतका गीतकार नेत्र अर्याललाई गीत बनाउने आग्रह धेरै आएका छन् । उनले केही तीज गीत लेखिसकेका पनि छन् । त्यसमध्ये ३ वटा तीज गीत रेकर्ड समेत भइसकेका छन् ।

‘तीज गीतको काम शुरू भएको छ । ३ वटा रेकर्ड भइसकेका छन् । धेरैसँग कुरा भइरहेको छ । गीत पनि बन्दैछन्,’ अर्यालले भने । 

भिडियो छायांकन पनि हुँदैछन् शुरू

तीज गीतका भिडियो छायांकन पनि अब बिस्तारै शुरू हुने तरखरमा छन् । तीज गीतमा सर्वाधिक खोजिने मध्येकी निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ भिडियोको काम शुरू गर्ने तरखरमा रहेको बताउँछिन् । 

उनले लोकान्तरसँग भनिन्, ‘भिडियोको काम अब बिस्तारै शुरू हुने तयारीमा छन् । मैले अर्को सातादेखि शुरू गर्दैछु ।’ थुप्रैसँग तीज गीत निर्देशनका लागि उनको समय तय भइसकेको छ । कोरोना महामारीको समयमा समेत अघिल्ला २ वर्ष ४ दर्जन बढी तीज गीतको निर्देशन गरेकी स्मृतिले यसवर्ष त्योभन्दा बढी भिडियोको काम गर्ने अनुमान गरेकी छन् । 

‘कोरोना महामारीको समयमा त ४५–५० वटा तीज गीतको निर्देशन गरेकी थिएँ,’ तिमिल्सिनाले भनिन्, ‘यसवर्ष माहोल राम्रो छ । त्यसैले त्योभन्दा पनि बढी नै गर्छु होला ।’ गीत समेत गाउँदै आएकी उनी यसवर्ष आफ्नै स्वरमा समेत तीज गीत ल्याउने तयारीमा छिन् ।

भिडियो छायांकन केही दिनमा शुरू गरे पनि सार्वजनिक हुन समय लाग्ने तिमिल्सिनाले बताइन् । 

२ वर्षदेखि रोकिएका तीज विशेष सांगीतिक कार्यक्रम हुँदै

कोरोनाका कारण अघिल्ला २ वर्ष तीजमा कार्यक्रम नगरेका कलाकारहरू यसवर्ष भने तीजका कार्यक्रम तय गर्न थालिसकेका छन् । यसवर्षदेखि अवस्था सामान्य रहे तीज विशेष कार्यक्रमहरू लयमा फर्किनेछन् । गायिका मञ्जु पौडेल र राधिका हमालले यसवर्ष तीजका लागि विदेशमा कार्यक्रम तय भइसकेको जानकारी दिएका छन् । गायक पशुपति शर्माले पनि यसवर्ष तीजका लागि विदेशमा कार्यक्रम तय भएको जानकारी दिए । ‘अस्टे«लिया र जापानमा तय भएको छ । अरु देशका लागि पनि कुरा भइरहेको छ,’ शर्माले भने ।

खेम सेञ्चुरीले पनि विदेशका लागि कुरा भइरहेको बताउँदै जाने/नजाने त्यो समयमा भर पर्ने बताए । गीत तयार पारेर विदेशमा जानुपर्र्नेे भएकाले पनि कलाकारहरूले समयमै तीज गीत बनाउने गरेका हुन् । यसवर्षदेखि देशभित्र पनि तीज विशेष कार्यक्रम लयमा फर्किने अनुमान कलाकारहरूको छ ।

पछिल्लो समय अधिकांश गायक/गायिकाले स्टेज शो लक्षित गरेर पनि तीज गीत सार्वजनिक गर्दै आएका थिए । यसवर्ष स्टेज कार्यक्रम हुने भए पनि तीज गीत पनि विगतका २ वर्षभन्दा बढी आउने अनुमान गरिएको निर्देशकहरू बताउँछन् । 

असार १५ गतेअघि तीज गीत नल्याउन आग्रह

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले विगतका वर्षदेखि नै संस्कृति बिगार्ने खालका तीज गीत नल्याउन आग्रह गर्दै आएको छ । असार १५ गतेअघि तीजका गीत नल्याउन प्रतिष्ठानको आग्रह रहने गरेको छ । सोही कारण असार १५ गतेपछि मात्रै तीजका गीतहरू सार्वजनिक हुने गरेका छन् ।

साउन शुरू भएसँगै तीज गीतको बाढी नै आउने गरेको छ । ‘असार १५ गतेसम्म त असारे गीत नै आउने भए । त्यसपछि तीज गीत ल्याउन हाम्रो आग्रह हो,’ प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले भने, ‘सामाजिक सद्भावमा खलल पुर्‍याउने, दिअर्थी, अपाच्य खालका तीज गीत नल्याउन हाम्रो आग्रह रहन्छ ।’ यस वर्षको हरितालिका तीज भदौ १४ गते परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्