
नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले यौन हिंसा विरुद्धको विधेयकमा उजुरीको हदम्याद नराख्दा मुद्दाको चाङ लाग्ने खतरा रहेको बताएकी छन् ।
कानून बनाउँदा पुरुषको पीडालाई नजरअन्दाज गर्न नहुने उनले बताइन् ।
प्रतिनिधि सभामा यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको सैद्धान्तिक छलफलमा सोमवार भाग लिँदै चौधरीले मन मिल्दासम्म लभ भन्ने र मन नमिल्दा बलात्कारको आरोप लगाउने घटना भइरहेको बताएकी छन् ।
‘म महिला हो भन्दैमा महिलाको मात्र होइन, पुरुषको भावना पनि बुझ्न जरुरी छ । अस्ति भर्खरको केश हो, पल शाह र सुस्मिताको कुरा । जबसम्म मन मिल्यो तबसम्म लभको संज्ञा दिइयो, आफ्नो स्वार्थको कुरा भएन बलात्कारको संज्ञा दिने ?’ सांसद चौधरीले प्रश्न गरिन्, ‘सम्मानित पूर्व सभामुख (कृष्णबहादुर महरा) को घटना हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो तबसम्म केही कसैलाई पत्तो थिएन, स्वार्थ मिलेन बलात्कारको संज्ञा दिएर ६ महिनासम्म जेलमा कोचियो ।’
आफू महिला मात्र नभई देशको सांसद भएकाले कानून बनाउँदा पुरुषको समस्याबारे पनि सोच्नुपर्ने उनले बताइन् । ‘हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ । अनि कसरी न्याय पाउँछन् ? म महिला हो महिलाको विरुद्धमा बोल्यो नभन्नु होला । म देशको सांसद हो, कानून बनाउन आएका छौं । पुरुषको पीडा कसले बोल्ने ? सबै महिला मात्र पीडित होइन, धेरै महिला पीडित छन्, केही मात्रामा पुरुष पनि छन् ।’