३० असार २०८३, मंगलबार

निवर्तमान जनप्रतिनिधिको अनियमितता छानबिन गर्न उच्चस्तरीय समिति गठन

निवर्तमान जनप्रतिनिधिको अनियमितता छानबिन गर्न उच्चस्तरीय समिति गठन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासे योजना तथा कार्यक्रममा अनियमितता भएको जनाउँदै स्थानीयले दिएको उजुरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।

नगर कार्यपालिकाको सोमवार बसेको पहिलो बैठकले विक्रम संवत् २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा अनियमितता भएको जनगुनासो तथा उजुरी परेपछि नगर उपप्रमुख विशन राईको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा राम कटुवाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई (इञ्जीनियर), युवराज श्रेष्ठ (चार्टर्ड एकाउन्टेन्ट), कृष्ण बुढाथोकी र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मालाई राखिएको छ ।

भ्रष्टाचारमुक्त, सुशासनयुक्त समृद्ध नगर बनाउन आ–आफ्नो ठाउँबाट संकल्प गर्ने निर्णय गरेको नगरपालिकाले अघिल्लो कार्यकालमा सञ्चालित योजना तथा कार्यक्रममा भएका अनियमिततामाथि छानबिन गरेर दोषी ठहरिए कानूनी कारबाही गर्ने निर्णय गरेको छ ।

१५ वडा रहेको नगरपालिकामा विक्रम संवत् २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका दीपनारायण रिजाल नगर प्रमुख र विणादेवी राई उपप्रमुख निर्वाचित भएका थिए । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध ४ राजनीतिक दलका साझा उम्मेदवार नेपाली कांग्रेसका तीर्थराई भट्टराई नगर प्रमुख र नेकपा माओवादी केन्द्रका विशन राई उपप्रमुखमा विजयी भएका छन् ।

बैठकले नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७४ बमोजिमको ९ वटा विषयगत समितिको संयोजक समेत तोकेको छ । शहरी तथा पूर्वाधार विकास समितिको संयोजक दिनेश घिमिरे, आर्थिक विकास समिति संयोजकमा दिनेश राई, सामाजिक विकास समिति संयोजकमा दानबहादुर राई, वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापन समिति संयोजकमा रामकुमार हिङ्माङ, योजना, अनुगमन तथा तथ्यांक समिति संयोजकमा नवराज राई, राजस्व तथा आर्थिक प्रशासन समिति संयोजक खगेन्द्र राई, न्याय कानून तथा मानवअधिकार प्रवद्र्धन समिति संयोजकमा हरि चौलागाईं र सामान्य प्रशासन समिति संयोजकमा झुलेन्द्र विश्वकर्मा चयन भएका छन् ।

बैठकले समितिका अन्य सदस्यहरू तोक्ने अधिकार नगर प्रमुख भट्टराई र उपप्रमुख राईलाई दिएको छ । उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ बमोजिम योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गर्न उपप्रमुख राईको संयोजकत्वमा अञ्जना केसी र गंगा विश्वकर्मा सदस्य रहेको नगरस्तरीय योजना अनुगमन तथा सुपरीवेक्षण समिति गठन गर्ने, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने स्थानीय राजस्व परामर्श समिति, दफा ६६ बमोजिमको नगरप्रमुखको संयोजकत्वमा गठन हुने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति तथा दफा ६७ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य तोक्ने अधिकार नगरप्रमुख र उपप्रमुखलाई प्रत्यायोजन गरिएको छ । 

नगरपालिकामा शिक्षा क्षेत्रको सुधारका लागि सम्बन्धित क्षेत्रका विषय विज्ञ सहितको शिक्षा समिति गठन गर्ने र उक्त समितिको काम, कर्तव्य र अधिकार स्वीकृत गर्ने, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवा–सुविधा नेपाल सरकारले तोकेबमोजिम हुने व्यवस्था गर्नेलगायतका १२ बुँदे निर्णय गरिएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले नगरपालिकाभित्र सञ्चालित सबै बालविकास केन्द्रका सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवा–सुविधामा आंशिक मात्र वृद्धि गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्