
सामाजिक सञ्जालमा नाबालिग तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोजकुमारी दाहाल रहेका छन् ।
अश्लील भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले बिकेशलाई धुलिखेल नगरपालिका-६ बाट बुधवार र महिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेकोले भोजकुमारीलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा साइबर ब्यूरो भोटाहिटीको टोली उनीहरूलाई पक्राउ गरेको हो ।