
नेकपा एमालेका सांसद एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र राष्ट्रिय हितविपरीत शक्ति राष्ट्रसँग सामरिक सम्झौता गरेको आरोप लगाएका छन् । उनले देउवाका कारण नेपालको स्वाधीनता र स्वतन्त्रता खतरामा परेको जिकिर गरे ।
‘२०५२ सालमा देउवाजी पहिलोपटक प्रधानमन्त्री हुँदा हुँदा देश हिंसात्मक द्वन्द्वमा गयो, त्यो बेला देशको हितमा आँच पुर्याउने महकाली सन्धि भयो । अर्कोपटक प्रधानमन्त्री हुँदा देशमा प्रतिगमन आयो,’ आइतवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव राख्ने क्रममा रावलले भने, ‘अहिले संविधान मिच्दै राष्ट्रिय हितविपरीत धमाधम शक्ति राष्ट्रसंघ सामरिक सम्झौता हुँदैछन् । नेपालको स्वाधीनता र स्वतन्त्रता खतरामा पर्दैछ ।’
एमाले नेता रावलले सात पटक प्रधानमन्त्री हुन्छु भनेका देउवा सात पटकसम्म प्रधानमन्त्री बने नेपालको अवस्था नै के हुन्छ भनेर आशंका गरे ।
‘उहाँ पाँचचोटी प्रधानमन्त्री हुँदा त यस्तो, सातचोटी हुन्छु भन्नु हुन्छ, त्यो बेला त नेपाल नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने स्थिति देखिन्छ,’ रावलले भने । २०७४ सालको प्रतिनिधि सभा चुनावको पूर्वसन्ध्यामा देउवाले सात पटक प्रधानमन्त्री बन्ने योग रहेको दाबी गरेका थिए ।