
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् ।
आईएमई ग्रुपअन्तर्गतको रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताएका हुन् ।
‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ,’ उनले भने, ‘विदेशमा रहेका नेपालीहरूको कमाइ सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनीहरू बनिरहेका छन् ।’
रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए ।
हुण्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट विदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको उनले प्रशंसा गरेका थिए ।
आर्थिक वर्ष २०७९–८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उनले जानकारी जानकारी दिए ।
‘बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेका छैन । अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेष रुपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ,’ उनले भने, ‘यो भनेको हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र विदेशी मुद्राको आर्जन गर्ने भन्ने हो ।’
आर्थिक वर्ष ०७९–८० को बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीतातर्फको प्रस्थान भएकाले मुलुकको वर्तमान आर्थिक अवस्थालाई विस्तारै समाधान गरी अघि बढ्ने विश्वास दिलाए । उनले औद्योगिक वस्तु र कृषि उपजसँगै सेवा क्षेत्रको समेत निर्यात थालनी गर्ने गरी बजेट आएको बताए ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आईएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रुपान्तरण गरेको बताए ।
गाँस, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउँदो दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
श्रम बेचेर पैसा कमाइरहेको परिस्थितिलाई परिवर्तन गर्ने गरी आगामी आर्थिक वर्षको बजेटले उत्पादन बेचेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको बताए
कार्यक्रममा आईएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट शुरू भएको आईएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिए । उनले बजेटमा आएका विषयहरू कार्यान्वयनमा जाने हो भने देशको आर्थिक गतिविधि बढ्ने सुझाव दिए ।