
पोर्चुगल पठाइदिन्छु भनेर नक्कली कागजातसमेत दिई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था सञ्चालन गरेको र आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष भएको बताएका थिए ।
पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले पोर्चुगल काम लगाई दिन्छु भनेर प्रलोभनमा पारेर ८ जनाबाट ३३ लाख ५० हजार रकम लिएर ठगी गरेको जाहेरीका आधारमा रोजितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रोजितलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।
साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिसाहरू नक्कली भएको अनुसन्धानका क्रममा खुलेको छ । उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।