२२ जेठ २०८३, शुक्रबार
माओवादी-जसपा सहकार्यको चर्चा

जसपा विभाजनको त्रासबीच प्रचण्डतर्फ उपेन्द्रको नजर, समाजवादी गठबन्धन कि पार्टी एकता ?

असार २, २०७९
जसपा विभाजनको त्रासबीच प्रचण्डतर्फ उपेन्द्रको नजर, समाजवादी गठबन्धन कि पार्टी एकता ?

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरूले पार्टी नै विभाजन गर्नेसम्मको तयारी गरेपछि जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र)सँग सहकार्य अगाडि बढाउने गरी परामर्श थालेका छन् ।

भट्टराई समूहले पार्टी नै कब्जा गर्ने तयारी गरिरहँदा उपेन्द्रले माओवादीसँग सहकार्यको विकल्पमा निकटस्थहरूसँग छलफल थालेका हुन् ।

पहिलो विकल्पमा माओवादीसहित विचार मिल्ने शक्तिसँग तत्काल गठबन्धन गरेर अगाडि जाने र अन्तिम अवस्थामा पार्टी नै समेत एकता गर्न सक्ने विकल्पमा यादवले निकटस्थहरूसँग परामर्श गरेको स्रोतको दाबी छ ।

जसपा अध्यक्ष यादव जेठ २९ गते जनकपुर पुगेका बेला धनुषा र महोत्तरीका केन्द्रीय सदस्यहरूसँगको छुट्टाछुट्टै भेटमा पनि एजेन्डाका आधारमा माओवादीसँग नजिक रहेको कुरा खुलाएका थिए ।

'प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, १० प्लस १ प्रदेश, प्रादेशिक स्वायत्तता, समानुपातिक सामावेशी लोकतन्त्रलगायतका एजेन्डामा दुवै पार्टीको विचारधारा समान छ,' उपेन्द्रको भनाइ उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, 'आउँदो निर्वाचनमा पाँचदलीय गठबन्धन कायम हुन नसके कम्तिमा माओवादी केन्द्रसँग सहकार्य वा सम्भव भए पार्टी नै एकताका लागि हामी तयार रहनुपर्छ ।'

भट्टराईको योजनामा ब्रेक लगाउन प्रचण्डको साथ

जसपाका केही सांसदलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न सोमवार बालुवाटार पुगेका भट्टराईले बहुमत जुटाएर उपेन्द्र यादवलाई कारवाही गर्न लागेको जानकारी गराएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनलाई सक्रिय बनाउनका लागि प्रतिस्थापन विधेयक ल्याइदिन र उपेन्द्रको एकल हस्ताक्षरलाई मान्यता नदिन भट्टराईले आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले आफू तत्काल उपेन्द्रको विपक्षमा जान नसक्ने संकेत गरेका थिए । वर्तमान सरकार गठनमा जसपाको भूमिका रहेकाले जोसँग बहुमत हुन्छ, उसको कुरा सुन्ने देउवाले बताएका थिए ।

तर, भट्टराईले प्रधामन्त्रीबाट अपेक्षित सहयोग पाउने सम्भावना टरेको छ । यसमा पनि प्रचण्डकै भूमिका प्रमुख रहेको स्रोतले जानकारी दियो ।

उपेन्द्रलाई अप्ठ्यारो पर्ने गरी कुनैपनि काम नगर्न प्रचण्डले देउवालाई आग्रह गरेको स्रोतको दाबी छ । प्रचण्डको आग्रहपछि देउवाले यो च्याप्टर क्लोज गरेको स्रोतले बतायो ।

शान्ति प्रक्रियामा आएपछि गौर हत्याकाण्डबाट दुस्मनमा परिणत भएका प्रचण्ड र उपेन्द्रले त्यसको केही समयपछि नै सरकारमा सहकार्य गरेका थिए ।

त्यसयता प्रचण्ड र उपेन्द्रको ट्युनिङ मिल्दै आएको छ । प्रचण्ड प्रधानमन्त्री छँदा दुवैपटक उपेन्द्र पार्टीबाट आफ्नै नेतृत्वमा सरकारमा सहभागी भएका थिए ।

प्रतिनिधि सभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुने प्रचण्डको तत्कालीन एजेन्डालाई पनि उपेन्द्रले साथ दिएका थिए ।

अन्तिम समयमा प्रचण्डसँगै उपेन्द्र पनि व्याख्यात्मक घोषणामा सहमति जनाउँदै एमसीसी पारित गर्ने पक्षमा खुलेका थिए ।​

के भन्छन् माओवादी र जसपाका नेताहरू ?

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा पनि माओवादी र जसपाबीच एकता हुनु दुवै पार्टी र देशको पनि आवश्यकताको विषय भएको बताउँछन् । उपेन्द्र यादवसँग तत्कालीन मधेशी जनअधिकार फोरममा लामो समय सहकार्य गरेका शर्मा देशको राष्ट्रिय राजनीतिको बलियो वैकल्पिक शक्ति बनाउन दुई पार्टीबीच एकता हुन आवश्यक रहेको बताउँछन्।

'उपेन्द्रजीलाई आफ्नो पार्टीमा सामेल गराउन माओवादीलाई कुनै समस्या नै छैन, प्रचण्डजीका लागि पनि त्यो ठूलो अवसर नै हो,' शर्माले लोकान्तरसँग भने, 'उपेन्द्रजीलाई पनि राष्ट्रिय नेता बन्नु छ भने अन्य कुनै पार्टीमा समाहित हुनुभन्दा माओवादी केन्द्र नै ठूलो अवसर हुन्छ । प्रचण्डपछि पार्टीको नेतृत्व गर्ने अवसर पनि पाउन सक्नुहुन्छ ।'

एजेन्डा, मुद्दा र स्वार्थ  दुवै पार्टीको मिलिरहेको हुनाले पार्टी एकताका लागि पर्याप्त आधार पनि रहेको उनले बताए । जनयुद्ध गरेर आएको क्रान्तिकारी पार्टी र मधेश विद्रोहको नेतृत्व गरेको पार्टीबीचको एकता स्वाभाविक हुने उनको भनाइ छ ।

'पार्टी एकता भए एकीकृत पार्टीले शक्ति पनि स्वाभविकरूपमा प्राप्त गर्छ । जनयुद्ध र मधेश जनविद्रोहबाट प्राप्त भएको परिवर्तनलाई संस्थागत गर्न पनि बल पुग्छ,' शर्माले लोकान्तरसँग भने, 'तर दर्शनको विषयमा भने मतभेद देखिन्छ । उपेन्द्रजी वामपन्थी विचारसँग आकर्षित देखिनुभएको छैन ।'

तर, उपेन्द्रसँगै जसपाका पदाधिकारीहरू अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतको पृष्ठभूमि वामपन्थी नै हो । उपेन्द्रले आफूलाई कम्युनिस्ट विचारधाराबाट अलग राख्न खोज्दा अलि समस्या हुनसक्ने उनले बताए ।

माओवादीकै अर्का एक प्रभावशाली नेता एवं पूर्व स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले भने जनता समाजवादी पार्टीसँग एकता वा सहकार्यको विषयमा भइरहेको चर्चाबारे आफू अनभिज्ञ रहेको बताए ।

'मैले सुनेअनुसार जनता समाजवादी पार्टी नै फुटिरहेको छ, त्यस्तो अवस्थामा उक्त पार्टीसँग एकता वा सहकार्य के गर्ने हो भन्ने कुरा पार्टीको संस्थागत निर्णयबाट हुनुपर्छ,' यादवले लोकान्तरसँग भने, 'अहिलेको पाँच दलीय गठबन्धन संविधान रक्षाका लागि भएजस्तै अन्य पार्टीसँग एकता वा सहकार्य किन गर्ने भन्ने कुराको उद्देश्य पनि प्रस्ट हुनुपर्छ ।'

चुनाव जित्नका लागि मात्र एकता वा सहकार्य गर्ने हो कि एजेन्डाका लागि पनि गर्ने भन्ने कुरामा प्रस्ट हुनुपर्ने उनले बताए ।

माओवादी पार्टीसँग मात्र एकता गर्नुभन्दा पनि जसपाका नेताहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग मिलेर समाजवादी केन्द्र नै गठन गर्नुपर्नेमा जोड दिन्छन्।

जसपाका कार्यकारिणी सदस्य समेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले माओवादी पार्टीसँग मात्र एकता गर्नुभन्दा तीन पार्टी मिलेर समाजवादी केन्द्र नै बनाए राम्रो हुने बताए ।

'माओवादी पार्टीसँग मात्र एकता गर्नुभन्दा पनि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच समाजवादी केन्द्र बनाएर जाँदा राम्रो हुन्छ,' मुख्यमन्त्री राउतले लोकान्तरसँग भने, 'अहिले पाँचदलीय गठबन्धन माथिदेखि तलसम्म कायमै छ, त्यही रहे राम्रो, नभए तीन पार्टीबीच समाजवादी केन्द्र बनाएर जाँदा पनि राम्रो हुन्छ।'


उपेन्द्र यादवनिकटकै एक नेताले भने उपेन्द्रको चाहना माओवादी पार्टीसँग एकता नै गरिहाल्ने भन्दा पनि समाजवादी गठबन्धन बनाएर जाने रहेको बताए ।

'जनता समाजवादी पार्टीलाई राष्ट्रिय पार्टी बनाउनुभन्दा पनि साविकमा मधेशकेन्द्रित मधेशी जनअधिकार फोरम पार्टी रहेजस्तै क्षेत्रीय पार्टी नै कायम राख्ने र मधेशदेखि केन्द्रसम्ममा तीन पार्टीबीच चुनावका लागि समाजवादी गठबन्धन बनाएर जाने कुरामा उपेन्द्रजी प्रस्ट हुनुहुन्छ,' ती नेताले लोकान्तरसँग थपे, 'पार्टी एकताको कुरा हल्ला मात्र हो, उपेन्द्रजी अन्य नेताको नेतृत्व मातहत बस्ने नेता नै होइन। चुनावी तालमेलका लागि समाजवादी गठबन्धन बनाउने उहाँको प्रयास भने जारी छ।'

कांग्रेससँगको तालमेल अपेक्षित नभएकाले उपेन्द्र त्यसको विकल्प खोजीमा लागेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्