२९ जेठ २०८३, शुक्रबार

संसदको शून्य समयः कसले के बोले ?

संसदको शून्य समयः कसले के बोले ?

प्रतिनिधि सभा सांसद अतहरकमाल मुसलमानले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रमलाई सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गर्न सरकारसँग माग गरेका छन् । 

संसदको शून्य समयमा बोल्दै उनले हस्ताक्षर गरेको पत्र बाहिर आएकाले संसदमा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौती दिने सांसदले चुनौती स्वीकार गर्न आग्रह गरे । 

सांसद अमृता थापाले प्रमुख प्रतिपक्ष दलका नेताहरूको नैतिकता हराएको बताइन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा अमेरिकाको स्टेट पाटर्नरसिप प्रोग्राममा प्रधानसेनापतिले पत्राचार गरेको र ओली सरकारका रक्षा मन्त्रीले गठबन्धनको नेतालाई चुनौती दिने कुरा नैतिकताले नदिने बताइन् । 

सांसद थापाले संसदमा बोलेको कुरा रेकर्डबाट हटाउनुपर्ने माग राखिन् । प्रमुख प्रतिपक्षले आफंै गल्ती गरेर आफैं निहुँ खोज्ने काम गरेको उनको भनाइ छ ।  

सांसद आशाकुमारी विकले देशमा गरीब, महिला, बालबालिका र दलितको लागि न्याय हराउँदै गएको बताइन् । उनले अब नेपाली चेली न्याय खोज्न जाने बाटो सरकारले देखाइदिन माग गरिन् । सांसद विकले कञ्चनपुरका सुशील चटौतविरुद्ध १३ वर्षीया बालिका बलात्कार मुद्दा हेरिरहेकी ललितपुरकी सरकारी वकिल संगीता थोकरलाई मुद्दा कमजोर बनाउन नमानेको भन्दै सरुवा गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले तत्काल बलात्कार घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिन सरकारसँग माग गरिन् ।

सांसद उमाशंकर अरगरियाले मधेश आन्दोलनका बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे । 

सांसद खगराज अधिरकारी एसपीपीको लागि सेनाले पठाएको पत्र कसको मातहतमा गएको छानबिन गर्न आफूहरू तयार रहेको बताए । सांसद अधिकारीले त्योबेलाका प्रधानमन्त्री सुशील कोइरालाले लेखेको पत्र सार्वजनिक गर्न चुनौतीसमेत दिए । उनले केपी ओलीले पठाएको पत्र भए ल्याउन चुनौती दिँदै त्यो पत्र सुशील कोइरालाकै भएको दाबी गरे । 

सांसद गजेन्द्रबहादुर महतले गत वर्ष जुम्लामा गएको बाढीले जग्गा बगाएको तर अहिलेसम्म त्यहाँका किसानले  राहत नपाएको गुनासो गरे । उनले अहिले त्यहाँका किसान धान रोप्न नपाएर रोइरहेको गुनासो गरे । 

सांसद जिपछिरिङ लामाले नागरिकता विधेयक तत्काल संशोधन गरेर सबै राजनीतिक दलसँग सहमति गरेर सबै नागरिकले नागरिकता पाउने व्यवस्था गर्न सरकारसँग माग गरे । उनले निर्वाचन प्रणाली संशोधन गरेर ८० प्रतिशत सांसद निर्वाचित र २० प्रतिशत मात्रै समानुपातिक प्रणाली लागू गर्न माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्