
झापाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको बिर्तामोड नगरपालिकाले ५ वर्षे आवधिक योजना निर्माण गरेको छ ।
स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजंगल, पर्यटन, व्यापार–व्यवसाय लगायतका विविध पक्षलाई समेटेर ५ वर्षे आवधिक योजना निर्माण गरेको नगर प्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिए ।
‘उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि, र रोजगारको अभिवृद्धिः बिर्तामोड नगरको, विकास र सुशासन सहितको समृद्धि’ नारासहित नगरपालिकाको आगामी कार्ययोजना बनाइएको हो । नगरपालिकाले स्वास्थ्यतर्फ चिकित्साशास्त्र अध्ययन गर्न मेडिकल कलेजको स्थापनाका लागि उपयुक्त वातावरण तयार गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, क्यान्सर, मिर्गौला, आँखा, स्पाइनलकर्ड इन्जुरी, ब्रेन, ग्यास्ट्रोजस्ता सेवा उपलब्ध भएका अस्पताल स्थापना गर्न प्रोत्साहित गर्ने, ज्येष्ठ तथा अपाङ्ग नागरिकका लागि नियमितरुपमा स्वास्थ्य परीक्षण तथा उपचारको लागि घरदैलो सेवा सञ्चालन गर्ने र सोका लागि विशेषज्ञ चिकित्सक सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।
आर्थिकरूपमा पछाडि परेका समुदायमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने र बहुक्षेत्रीय पोषणको आवधारणालाई सबै नागरिकसँग आबद्ध गराई स्वास्थ्य समाज निर्माण गर्ने योजना बनाएको छ ।
५ वर्षभित्र शिक्षातर्फ ९० प्रतिशतभन्दा बढी नगरवासी उच्च शिक्षा हासिल गरेको हुने, माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क हुने, प्राविधिक शिक्षा स्नातकोत्तर तहसम्मको उपलब्ध भएको हुने, सबै बालबालिकाले आधारभूत माध्यमिक विद्यालय गएका हुने लक्ष्य निर्धारण गरेको छ ।
८० प्रतिशत नगरबासीले पाइपलाइनबाट तथा बाँकी नागरिकले ट्युबेल प्रयोग गरी आधारभूत तहको स्वच्छ तथा सफा खानेपानीसेवा उपलब्ध गराउने, कृषि क्षेत्रलाई उन्नत बनाउन मल, बिउ र प्रविधिसहित विकास गर्दै उत्पादन वृद्धि गर्दै लैजानुका साथै माछा, मासु, अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने नगरको योजना छ ।
५ वर्षभित्र सडकको स्तरोन्नति गर्दै युटिलिटी कोरिडर सहितको सडक निर्माण, नयाँ निर्माण हुने सडकमा ड्रेन युटिलिटी करिडोरसहित चौबाटोमा ट्राफिक लाइट, आकासे पुल, जमिनमुनिमा सब–वे निर्माण गर्ने र १२५ किलोमिटर सडक कालोपत्रे तथा पेवर्स लगाउने लक्ष्य छ ।