
आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
खोटाङको छटेढुङ्गा गाउँपालिका-५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका-१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या गरेको अभियोगमा झापा गौरादह नगरपालिका-३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निर बहादुर खड्कालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
खोटाङ बराहपोखरी गाउँपालिका-५ पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा उनकै नाति निरले हत्या गरेको खुलेको थियो ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका-६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा निरले हजुरआमालाई वैशाख २६ गते इटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका-५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ ।
उनी उपर कर्तव्य ज्यान कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।