
मदन भण्डारी मेमोरियल कलेजको आयोजनामा आँखा तथा दन्त शिविर सम्पन्न भएको छ ।
कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टल अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शनिवार आयोजित शिविरमा २८४ जना दाँतका बिरामी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका छन् ।
यस्तै, १२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको कलेजका समाज कल्याण उपसमितिका संयोजक तथा शिक्षक अरुण शर्माले जानकारी दिए ।
‘कार्यक्रमबाट २८४ दाँतका बिरामी र ४४७ आँखाका बिरामीले लाभ लिएका छन्, जसमा ५३ जना बिरामीलाई चस्मा लगाउनु पर्ने भएको छ, १२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको छ,’ शिक्षक शर्माले भने, ‘अस्पतालले मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने बताएको छ ।’

शनिवार सञ्चालित स्वास्थ्य शिविरमा काठमाडौं महानगर वडा नम्बर १० र २९ का स्थानीयले लाभ लिएका छन् ।
उनले भने, ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी, अन्य कलेजका विद्यार्थीहरुले शिविरबाट लाभ लिएका छन् ।’
कलेजकै विद्यार्थी, शिक्षक, परिवारका सदस्यहरूले समेत दात र आँखा परिक्षण गराएका थिए ।
कलेजले आफ्नो वार्षिकोत्वसको अवसर पारेर शुक्रवार रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको थियो ।
उक्त कार्यक्रममा कलेज परिसरकै विद्यार्थी र कर्मचारीले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमबाट ९९ पिन्ट रगत संकलन भएको शर्माले बताए ।
त्यस्तै असार १४ गते हुने वार्षिकोत्सको अवसरमा आज (आइतवार) कलेज परिसर र कलेज वरिपरका क्षेत्रमा कलेजले सरसफाइ गर्दैछ ।