११ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

सिंहदरबारबाट कोही रुँदै कोही रिसाउँदै घर फर्किए, सामाजिक सञ्जालमा रामकुमारी भाइरल

सिंहदरबारबाट कोही रुँदै कोही रिसाउँदै घर फर्किए, सामाजिक सञ्जालमा रामकुमारी भाइरल

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्तामा पुगेपछि कतिसम्म पदलोलुपता हुन्छ भन्ने कुरा आइतबार बिदा भएका एकीकृत समाजवादीका ४ मन्त्रीको व्यवहारबाट पुष्टि भएको छ ।  क्रान्तिकारिताको पर्यावाची जस्तै रहेकी रामकुमारी झाँक्री र संसदीय राजनीतिका खेलाडी विरोध खतिवडा जस्तोका व्यवहारले यसलाई पुष्टि गरेको हो । हुन पनि सहरी विकासमन्त्रीबाट बिदा भएकी रामुकमारी झाँक्री मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै रोइन् । उनले आँसु खसालिरहेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने उनको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।

 भलै टिकाटिप्पणी सकारात्मक नकारात्मक दुबै देख्न सकिन्छ । जस्तो टिकाटिप्पणी भएपनि क्रान्तिकारी छवि भएकी रामकुमारीको पदलोलुपता कतिसम्म भएको भनेर भन्नेहरु नै धेरै छन् । यस्तै विरोध खतिवडाले पनि पद जोगाउन अनेक प्रयत्न गरे । अन्ततः केही नलागेपछि उनी सिंहदरबारबाट आफ्नै पार्टी एकीकृत समाजवादी र नेतृत्वसँग रिसाउँदै उनी बाहिरिन बाध्य भएका छन् । पर्यटन मन्त्री प्रेम आले र श्रममन्त्री किसन श्रेष्ठ त विवादका पर्याय नै भइहाले । मन्त्री हुँदा या नहुँदा उनीहरुको विवादित हर्कत बिर्सनलायक छन् । उनीहरु पनि नचाहँदा नचाहँदै मन्त्री छाड्न बाध्य भए भने उनीहरुको असन्तुष्टि आउँदा दिनमा थप प्रकट नहोला भन्न सकिन्न ।

०००००
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिनियुक्त गरेकी छन् । राष्ट्रपतिले समाजवादीका पुरानामन्त्रीलाई बिदा गरेर नयाँलाई नियुक्त गरेकी हुन् । जसअनुसार पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ र श्रम, रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवर नियुक्त भएका छन् । हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । उनीहरुको शपथ सोमबारका लागि तय भएको छ । 
००००
नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन् । 
आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिएका हुन् । उनले केही दिनअघि अध्यक्ष नेपालले १० भाई एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए । उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे । सांसद भट्टराईले आफूले गरेका गल्तीहरुलाई आत्साथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिए । उनले मुख छोड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छोड्न आउने बताए ।
००००
काठमाडौं स्कुल अफ ल विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रक्रिया पूरा गरी प्रत्यायनकृत हुने नेपालको पहिलो कानुन कलेज बनेको छ । नेपालमा उच्च शैक्षिक संस्थाहरूको गुणस्तर मापन गरी गुणस्तर सुनिश्चितता तथा प्रत्यायनबाट प्रत्यायनकृत गर्ने कार्य विश्वविद्यालय अनुदान आयोगले गर्ने गरेको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ ले उच्च शैक्षिक संस्थाहरूलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रक्रियामा लैजाने नीति ग्रहण गरेको छ । यो उच्च शैक्षिक संस्थाहरूको गुणस्तर निर्धारण गर्ने प्रक्रिया हो । यसबाट प्रत्यायनकृत हुने शैक्षिक संस्थाहरू गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको छ भन्ने बुझाउँछ ।
००००
काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ । शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।
००००
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको संगठन विभाग प्रमुखको जिम्मेवारी दिपेश पुनले पाएका छन्  । 

गत असार ५ गते बसेको संगठनको तेस्रो बैठकले पुनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको हो । 

बैठकले विभिन्न २७ वटा विभागमा जिम्मेवारी प्रदान गरेको छ ।
००००
पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आइतवार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।
 यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
००००
ललितपुर महानगरपालिकामा आइतवारदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाइएको छ ।  हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको हो ।
००००
कटुवा पेस्तोलसहित काठमाडौंमा दुई जना पक्राउ परेका छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६, मित्रनगरको एउटा खाजाघरमा कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो ।
००००
आफ्नै कोठामा मृत फेला परेकी लोक दोहोरी गायिका दिलमाया सुनार प्रकरणमा अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आत्महत्या दुरुत्साहन मुद्दामा  सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भनिने खीलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
००००
व्यापारीलाई धम्काएर ७ करोड रूपैयाँ ‘बार्गेनिङ’ गरेको आरोपमा पक्राउ परेका सातै जना धरौटीमा छुटेका छन् । 
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्कीको शुक्रवारको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
००००
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले मूल्यवृद्धिका कारण सर्वसाधारणमा पर्न गएको पीरमर्का, सदनमा भएको ध्यानाकर्षण र उपभोक्ताबाट आएको गुनासोपछि इन्धनको मूल्य घटाएको दाबी गरेका छन् । जनउत्तरदायी सरकार भएकोले जनताको पीरमर्कालाई बुझेर मूल्य घटाएको उनले दाबी गरे ।

आइतवार प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर मन्त्री बडूले मूल्य घटाएपछि सेवा क्षेत्रको मूल्यवृद्धि पनि घट्ने विश्वास व्यक्त गरेका हुन् । 
००००
शेयर बजारमा साताको पहिलो दिन आइतवार सकारात्मक सुधार देखिएको छ । आइतवार एकै दिन बजार ९४.९२ अंकले बढेको छ । १८४८ अंकमा झरिसकेको शेयर बजार पछिल्लो दुई दिनदेखि बढ्न थालेको छ । आइतवार मात्रै बजार ५.१० प्रतिशतले बढेर १९५६ बिन्दुमा पुगेको छ ।
००००
नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीसहित ७ जनालाई कारबाहीको सिफारिस गरेको छ । पराजुली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । 

आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्य पार्टीका उम्मेदवारलाई सघाएको भन्दै पराजुलीकै वडाका ७ जनालाई कारबाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्