३० असार २०८३, मंगलबार

रामचन्द्र पौडेलको प्रश्न : के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

रामचन्द्र पौडेलको प्रश्न : के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने बताएका छन् ।

सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताए ।

उनले नेताहरूले समाजवादको कुरा गरे पनि व्यवहार भने त्यसअनुसार नभएको बताए । उनले पार्टीहरूले सरकारमा मन्त्री पठाएर ४ दिन काम गर्न नपाई सबैलाई पालो पुर्‍याउन मन्त्री परिर्वतन गर्नु पार्टी प्रणाली नभएको बताए ।

वरिष्ठ नेता पौडेलले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र समाजवादी चरित्र नभएको टिप्पणी समेत गरे । उनले नेताहरूले समाजवादको नारा बोक्ने तर काम भने प्रतिक्रियावादी र सामन्तवादी गर्ने गरेको जिकिर गरे ।

उनले भने, ‘एउटा पार्टीमा सरकारका मन्त्री भएका छन् । ४ दिन काम गर्न पाएका छैनन्, त्यसलाई हटाउनुपर्ने फेरि–फेरि पालैपालो पुर्‍याउनुपर्ने त्यो पनि पार्टी सिस्टम हो ? सबैको पालो पुग्नुपर्ने मन्त्री बन्नलाई कहाँ त्यस्तो हुन्छ । त्यस्तो सबैको पालो पुग्ने कुरा हुँदैन । म एउटा प्रश्न भन्न चाहन्छु – आज के समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? आउँछ यो देशमा ? कसरी आउँछ ? मैले भनिरहेको छु हामी समाजवादमा गइरहेका छौं कि ? हामी के आचरण र व्यवहार गरिरहेका छौं । हाम्रो चरित्र, आचरण र व्यवहारमा समाजवाद आउँछ कि आउँदैन त्यो महत्त्वपूर्ण कुरा छ । हामी समाजवादका नारा फलाक्ने तर काम चाहिँ हामी घोर प्रतिक्रियावादी, सामन्तवादी काम गर्ने ? यो चल्दैन । त्यसकारण हामी पूरै बदलिनुपर्छ । हाम्रो संस्कार परिर्वतन हुनुपर्छ । नेताहरू बदलिनुपर्छ । कार्यकर्ताहरू बदलिनुपर्छ । नयाँ तालिमको आवश्यकता छ । त्यसरी गयौं भने समाजवाद लागू हुन्छ । नत्र समाजवाद एकातिर हामी, हाम्रा कार्यकर्ता, सरकार र राज्य सञ्चालन अर्कोतिर हुन्छ । यसमा विरोधाभास हुन्छ । यसले हामी सबैलाई डुबाउँछ । त्यसबाट बच्नको लागि हाम्रो आचरण र व्यवहार मिलाएर गरौं । सिद्धान्त र व्यवहारलाई मिलाएर जाऔं । हामी जे भन्छौं त्यो कुरा कार्यान्वयनमा गरौं ।’

नेता पौडेलले समाजवादको नारामा प्रतिक्रियावादी प्रवृत्ति देखाउने गरिएको भन्दै अब राजनीतिक दलका नेता तथा कार्यकर्ता बदलिनुपर्ने आवश्यकता रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्