०७ साउन २०८३, बिहीबार
जसपा विवाद

मन्त्री फेर्ने र बाबुरामलाई कारबाही गर्ने जसपाको निर्णय, अधिकार उपेन्द्रलाई

असार १४, २०७९
मन्त्री फेर्ने र बाबुरामलाई कारबाही गर्ने जसपाको निर्णय, अधिकार उपेन्द्रलाई
फाइल तस्‍वीर

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकबाट मन्त्री हेरफेर गर्ने तथा छनौट गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

कार्यकारिणी समितिबाट गर्नुपर्ने निर्णयको जिम्मेवारी अध्यक्ष यादवलाई तोकिएको हो । 

साथै जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई कारबाही गर्ने अधिकार पनि अध्यक्ष यादवलाई दिइएको एक कार्यकारिणी सदस्यले लोकान्तरलाई बताए ।  

ती सदस्यले भने,‘औपचारिक रूपमा बैठक बसेको हैन, पहिलेदेखि नै हस्ताक्षर गरिएको थियो । सबैलाई राखेर अहिले यस्तो निर्णय गरिएको हो ।’ 

केही दिन अघि सम्म संसदीय दल र केन्द्रीय समितिमा बहुमत जुटाएर जसपा 'हाइज्याक' गर्ने प्रयास गरेका भट्टराईलाई कारबाही गर्नुपर्छ भन्दै केही केन्द्रीय सदस्यले यादवलाई ज्ञापनपत्र नै बुझाएका थिए।

यादवबाट असन्तुष्ट रहेका केही सांसद तथा केन्द्रीय सदस्य समेतको साथ पाएर भट्टराईले पार्टी नै 'हाइज्याक' गर्ने प्रयास गरेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सहयोग लिएर प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत आफ्नो पक्षमा पार्न सफल भएका यादव पार्टीमा पनि फेरि बलियो देखिएका छन्।

असन्तुष्ट रहेका मध्ये केही सांसद तथा केन्द्रीय सदस्य समेतले यादवलाई नै साथ दिएपछि यादव पार्टीमा फेरी पनि बलियो देखिएका हुन्। 

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

जसपा सरकारमा जाँदा यादवले नै ६ महिना पछि मन्त्रीहरू फेरिने भनेर मन्त्री हुन आकांक्षा राखेकाहरूलाई आश्वस्त पारेका थिए।

केही दिन अघि संसदीय दलको बैठकमा समेत अध्यक्ष यादवलाई उक्त आश्वासन पूरा गर्न मन्त्री बाहेकका सबै सांसदहरूले दबाब दिएका थिए।

नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्री परिवर्तन भएपछि जसपामा पनि मन्त्री फेर्न अध्यक्ष यादवलाई तीब्र दबाव परेको हो।

अध्यक्ष यादवले एक/दुई दिन भित्रैमा नयाँ मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री देउवालाई बुझाउने तयारी गरेका छन्।

कमेन्ट गर्नुहोस्