
धनुषामा श्रीमतीसँग झगडा गरेर मध्यरातमा गोली चलाउने एक युवक पक्राउ परेका छन् । सोमबार राति ११ बजेतिर श्रीमतीसँग झगडा परेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापा चोक बस्ने मनिष कुमार अधिकारीले घरमा लुकाएर राखेको पेस्तोलबाट गोली चलाएका हुन् । उनले रिसको झोँकमा घरको छतमा गएर गोली चलाएको सूचना पुगेपछि प्रहरी खानतलासीका लागि घरमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी घरको खानतलासी गर्दा किचन कोठाको टपमाथि लुकाएर राखेको अवस्थामा गोली लोड गरेको म्यागाजिन सहितको पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मनिष कुमारलाई पेस्तोलसहित गोली १ राउण्ड र म्यागाजिन १ सहित पक्राउ गरेर हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।