२६ जेठ २०८३, मंगलबार

नेपालबाट अमेरिकामा ह्याकिङ प्रकरणः सय जना क्यानेडियन पनि ठगिएको खुलासा

नेपालबाट अमेरिकामा ह्याकिङ प्रकरणः सय जना क्यानेडियन पनि ठगिएको खुलासा

नेपालबाट बसेर विदेशमा ह्याकिङ गर्ने टोलीले अमेरिका र क्यानाडाका नागरिकलाई समेत कलबाइपास गरेर ह्याकिङ गरेको तथ्य खुलेको छ । 

ह्याकरको टोलीले क्यानाडाका १ सय जना नागरिकलाई ह्याक गरेर रकम लुटेको पाइएको छ । त्यस्तै, अमेरिकाका १ सय ५० जना भन्दा धेरै नागरिकको पैसा बैंकको पिन ह्याकिङ गरेर लुटेको तथ्य खुलेको साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले जानकारी दिए । 

उनका अनुसार ठगिएका व्यक्तिहरुको घर ठेगानालगायतका व्यक्तिगत विवरण साइबर ब्यूरोले पत्ता लगाइसकेको छ । ‘कति रकम ह्याकिङ भएर चोरिएको हो भन्ने हामीले कूटनीतिक च्यानल र इन्टरपोलमार्फत् अनुसन्धान गरिरहेका छौंँ’ इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने ।

साइबर ब्यूरोले असार ६ गते ह्याकिङमा संलग्न २ भारतीय नागरिकसहित १३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । 

काठमाडौं महानगरपालिका– ४ धुम्बाराहीमा रहेको अर्बिट नेक्सस प्रा.लि.का सञ्चालक विजय श्रेष्ठ र दुई भारतीय नागरिकले अवैध रूपमा कल सेन्टर स्थापना गरेर अमेरिकामा साइबर ठगी (स्क्यामिङ) गरेको खुलासा साइबर ब्यूराले गरेको थियो ।

भारत महाराष्ट्र, नाला सोपारा थाने ताकिरोडका ३२ वर्र्षीय निसान गैरे र उत्तर प्रदेश अञ्जारौली फैजावाद ग्रामका २४ वर्र्षीय मनिष तिवारीलाई पनि काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रहरीले कल सेन्टरमा काम गर्ने लमजुङ नाल्मा गाउँपालिका– ५ का २२ वर्षीय करण गुरुङ, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ का ३५ वर्षीय अनोज लामा, उदयपुर चौदण्डीगढी नगरपालिका– १ की २० वर्षीया आरुषी राई, नुवाकोट किस्पाङ गाउँपालिका– २ की २१ वर्षीया युविना तामाङ, काठमाडौं महानरपालिका– २९ की २३ वर्षीय आसर तुलाधर, दोलखा भीमेश्वर नगरपालिका– ५ की २६ वर्षीय सपना मग्राती, झापा भद्रपुर नगरपालिका– ४ का १९ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनीहरूलाई आफूहरूले अवैध काम गरेको भन्ने जानकारी रहेको समेत प्रहरीले दाबी गरेको छ ।  

भारतमा रहेका कल सेन्टरमा साइबर हमला गर्ने ग्रुपले अमेरिकामा रहेका व्यक्तिको कम्प्युटर ह्याक गरी माइक्रोसफ्टको सूचनाजस्तै बनाएर ‘तपाईंको कम्प्युटरमा समस्या आयो’ अथवा ‘तपाईंको कम्प्युटरमा प्रोनोग्राफीले एक्सेस लिएको छ’, समाधान गर्न परे १८८८२००५५३२ नम्बरमा सम्पर्क गर्नुहोस् भन्ने म्यासेज देखाइदिन्थे । 

त्यो समस्या समाधान गर्नका लागि फोन गर्दा त्यो फोन भारत हुँदै नेपालमा ट्रान्सफर हुन्थ्यो । त्यसपछि विभिन्न चरण पार गर्दै जानुपर्छ भन्दै उनीहरूको व्यक्तिगत विवरणमा पहुँच पुर्‍याउँथे । उनीहरूले ती व्यक्तिको कम्प्युटरमाथि टीम भ्युअरको माध्यमबाट नियन्त्रण जमाउँदथे ।

‘उनीहरूले ती व्यक्तिहरूको बैंक खाता नम्बर, ठेगानालगायतका सबैको तथ्यांक राख्ने गरेको खुलेको छ,’ ब्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले भने, ‘यतिसम्म कि उनीहरूको बैंकको पर्सनल कोड नम्बरसम्म आफ्नो एक्सेसमा ल्याएको देखिन्छ ।’ ती सबै आइसकेपछि उनीहरूले पैसा चोरी गर्ने गरेको खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्