
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य पुष्टि गर्नेगरी समिति गठन गर्न निर्देशन दिएका छन् ।
सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालयमा पदबहाली गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । उनले सरकारले लागू गरेका स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको औचित्यका विषयमा सहसचिवको नेतृत्वको अध्ययन समितिको प्रतिवेदनका आधारमा मात्रै अगाडि बढ्ने बताए ।
मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट लागू गर्ने कुनै मेकानिजम बिना लागू भएकाले विवाद भइरहेको बताए । उनले स्मार्ट लाइसेन्स, इम्बोस्ड नम्बर प्लेट वितरणको औचित्य र सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने बताए ।
भौतिक पूर्वाधार देशकै सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने मन्त्रालय भएको भन्दै उनले अब रुग्ण आयोजनालाई सहनशीलताको नीतिबाट नहेर्ने बताए ।