
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या आरोपीलाई बचाउन प्रयास गरिएको भन्दै स्थानीयबासीले आन्दोलन चर्काएका छन्। स्थानीयबासीको आन्दोलनले उग्र रूप लिन थालेपछि स्थानीय प्रशासनले मंगलवार विहानैदेखि सदरमुकाम मंगलसेन आसपासमा निषेधाज्ञा जारी गरेको छ।
मृतक शाहीका आफन्तहरूले सोमवारदेखि नै हत्याका आरोपीलाई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन थालेपछि निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
यसअघि सोमवार स्थानीयवासी र प्रहरीबीच मुठभेड नै भएको थियो । हत्यामा संलग्न भनिएकाहरूलाई जोगाउन सरकारी वकिल कार्यालयले नै भूमिका खेलेको आरोप लगाउँदै मृतक शाहीका आफन्तहरू आन्दोलनमा उत्रिएपछि प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो।
सोमवार बिहानै मृतक शाहीका आफन्तहरू नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न पुगेका थिए। उनीहरूलाई रोक्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडपको भएको र त्यसक्रममा केही घाइतेसमेत भएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ।
मंगलवार पनि मृतकका आफन्तले प्रदर्शनको तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
प्रहरीले शाहीको हत्याको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित १३ जनालाई पक्राउ गरेको छ। शाहीको हत्या संलग्न भएको भन्दै उनीसहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए।
शाही गत जेठ १७ गतेदेखि हारइरहेकामा २१ गते मृत भेटिएका थिए।