संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई जिल्ला अदालत संखुवासभाले आजीवन कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले ६ जनाको हत्यामा संलग्नमध्ये ४ जनालाई आजीवन काराबासको सजाय हुने फैसला गरेको हो । ४ जनालाई आजीवन काराबासको सजाय सुनाइएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए ।
हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएको थियो । १ जनाको हकमा नाबालक रहेकाले कम सजाय भएको गौतमले बताए । २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ ।
आजीवन काराबासको सजाय सुनाइएकाहरूले बाचुञ्जेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए । ४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकम समेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकले २ लाख रुपैयाँ समेत जम्मा गर्नु पर्दैन ।
नरेश कार्कीले १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ । उनीविरुद्ध कर्तव्य ज्यानसँगै चोरी मुद्दा पनि चलाइएको थियो । हत्या गरेपछि मृतकको साथमा भएको मोबाइल नरेशले लिएर गएका थिए । त्यही अभियोगमा उनीविरुद्ध चोरी मुद्दा चलाइएको थियो ।
चोरी मुद्दामा पनि अदालतले उनलाई कसूरदार ठहर गर्दै १ वर्ष कैदको सजाय सुनाएको छ तर बालक भएकाले चोरीमा पनि उनले दुईतिहाइ मात्रै कैद भुक्तान गर्नुपर्ने अदालतले जनाएको छ ।
एकै परिवारका ६ जनाको हत्या गरिएको घटनामा ४९ वर्षीय रणबहादुर कार्की, छोराहरू २८ वर्षीय लोकबहादुर र १७ वर्षीय नरेश तथा ४७ वर्षीय खड्गबहादुर कार्की र उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । तीमध्ये रणबहादुर, लोकबहादुर, खड्गबहादुर र हस्तबहादुरलाई आजीवन काराबासको सजाय भएको छ ।
५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, पत्नी कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नातिनातिना ८ वर्षीय विपिन र ५ वर्षीया गोमा कार्कीको २०७८ भदौ २१ गते सामूहिक हत्या गरिएको थियो । व्यक्तिगत रिसइबीका कारण हत्या गरिएको थियो । हत्यामा संलग्नहरू तेजबहादुरकै दाजुभाइ हुन् ।