३१ असार २०८३, बुधबार

विवादास्पद धर्मगुरु सिद्धबाबाको आश्रममा सुजाता कोइराला !

विवादास्पद धर्मगुरु सिद्धबाबाको आश्रममा सुजाता कोइराला !

कांग्रेस नेतृ सुजाता कोइराला विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीको आश्रम पुगेकी छन् । 

बुधवार सामाजिक सञ्जाल फेसबुकमा उनले तस्वीर सार्वजनिक गर्दै सिद्धबाबाबाट आशीर्वाद लिएको उल्लेख गरेकी छन् । 

यी त्यही सिद्धबाबा हुन्, जसलाई एक महिलाले बलात्कार आरोप लगाएकी थिइन् । 

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते पीडितले प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । सिद्धबाबालाई बलात्कार आरोपमा प्रहरीले मंसिर १६ गते नियन्त्रणमा लिएको थियो ।

गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । 

९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालीन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । गिरीले हिरासतमा बस्ने समय भने अस्पतालमा बसेर बिताएका थिए । 

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीले गिरीलाई सहमति करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो । 

जिल्लाको फैसलाविरुद्ध पीडित पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा निवेदन दर्ता गरेको थियो ।

सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले भने उल्टाइदिएको छ । 

नेत्री कोइरालाले बिबादास्पद सिद्धबाबालाई धेरै पहिला भेटेको तर झुक्किएर आज तस्वीर सार्वजनिक भएको बताएकी छिन् । झुक्किएर पोष्ट भएको तस्वीर फेसबुकबाट हटाइसकिएको कोइरालाले बताएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्