
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
यसअघि डा मिनेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिँदा पनि देउवाले आफैँ सो मन्त्रालय राखेका थिए । ७ महिना बितिसक्दा पनि रक्षा मन्त्रालयमा नयाँ मन्त्री आएका छैनन् भने देउवाको नयाँ निर्णय लिने सुरसार पनि छैन ।
प्रधानमन्त्री देउवा तत्काल नयाँ अर्थमन्त्री पनि नियुक्त गर्ने मनस्थितिमा देखिएका छैनन् । शर्माबारे छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन दिएपछि मात्रै आवश्यक निर्णय हुने नेताहरु बताउँछन् ।
मंगलबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्ताकै क्रममा शर्मालाई राजीनामा गर्न लगाउने तर छानबिन समितिको प्रतिवेदन नआउँदासम्म तत्काल नयाँ अर्थमन्त्री नियुक्ति नगर्ने समझदारी भएको माओवादी केन्द्रका एक नेताले बताए ।
छानबिन समितिको प्रतिवेदनले गल्ती औंल्याएन भने पुनः शर्मा नै अर्थमन्त्री बन्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।
यसैबीच माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि फेरि शर्मा नै अर्थमन्त्री बन्नसक्ने बताएका छन् ।
बुधवार संसद बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग पुनले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए ।
अहिले तत्काल माओवादी केन्द्रबाट कोही पनि अर्थमन्त्री नबन्ने बताउँदै उनले छानबिन सकिएपछि शर्मा नै अर्थमन्त्री भएर आउने बताए ।
‘संसदीय छानविनको लागि सहज होस भनेर उहाँले राजीनामा गर्नु भएको हो, माओवादीबाट अर्को मन्त्री बन्ने सम्भावना छैन’, माओवादीका एक शीर्ष नेताले भने, ‘संसदीय छानविन समितिबाट सफाई पाएपछि उहाँ नै पुनः अर्थमन्त्री नियुक्त हुनुहुनेछ ।’
के भन्छन् शर्मा ?
शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् । संसद बैठकमा राजीनामा दिएको घोषणापश्चात् संसद बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् ।
शर्माले छानबिन समितिले गरेको छानबिनबाट आउने कुराले आफूले गरेको आत्मविश्वास प्रष्ट हुने बताउ । उनले स्थापित मूल्य,मान्यता,विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण गरेको उल्लेख गरे ।
शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिनपछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री शर्माले बुधवार संसद बैठकमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका थिए ।