
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैंझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
विराटनगर महानगरपालिकाका मेयर र उपमेयरलाई अनुचित दवाव दिएको खुलासापछि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की विवादमा तानिएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा निर्माणाधिन ‘महानगर आवास परियोजना’ का लागि प्रदेश सरकारले विनियोजन गरेको ७० लाख रुपैयाँ नौ दिनमा खर्च भएको कागज बनाउन मन्त्री कार्कीले दवाव दिएको खुलासापछि विवादमा तानिएका हुन् ।
सुकुमबासीहरुका लागि वडा नम्बर १२ मा महानगर आवास परियोजनामार्फत घर निर्माण भइरहेको छ । असार १६ गते काम रोकिएको भन्दै आर्थिक मामिला मन्त्रालयले बजेट बिनियोजन गरेको थियो । तर, बजेट विनियोजन भएको नौ दिनमा काम नै नभइकन ७० लाख रुपैयाँ खर्च भएको कागज बनाउन विराटनगर महानगरपालिकालाई कार्कीले दवाव दिएका हुन् ।
००००
नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा भएको अन्तर्घात छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा सो समिति गठन गरेको हो ।
राई माओवादी केन्द्रको अनुशासन आयोगका संयोजक हुन् । समितिका अन्य सदस्यहरूमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् ।
००००
पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा १०२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ नमूना परीक्षणमध्ये ७२ जनामा पीसीआर र ३० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
००००
नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिवार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
००००
नेपाली काँग्रेसले प्रदेश १ को नाम ‘सप्तकोसी’ अगाडि सारेको छ । शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेशसभाका दलहरूबीच भएको सर्वदलीय बैठकमा कुनै नाम अगाडि नबढाएको काँग्रेसले शनिवार भने प्रमुख सचेतक सुर्योमाराज राईमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।
००००
प्रतिपक्षी दलको बहिष्कारका बाबजुद मधेस प्रदेशसभाको बैठकबाट प्रदेश सरकारको विनियोजन विधेयकसहित दुईवटा विधेयक शिनबार बहुमतले पारित गरेको छ । प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा उठाएका प्रश्नहरूको सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएपछि सरकारको विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो ।
००००
गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी दिएको छ ।
००००
उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी भएका छन् । उनले एक हजार ६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत प्राप्त गरे ।
००००
नेपाल बार एशोसिएशन उच्च अदालत जनकपुरले जिल्ला न्यायाधीश डा परशुराम भट्टराईले गरेका विवादास्पद फैसलाहरू संकलन गरेर न्याय परिषद् सचिवालयमा पठाउने निर्णय गरेको छ ।
मनोज साहको हत्याका अभियुक्त पंकज भनिने दामोदार चौधरी लगायतका अभियुक्तलाई सफाइ दिएपछि बारको बैठक बसेर निर्णय गरिएको उपाध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले बताए ।
००००
झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको संक्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो संक्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए ।
००००
गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ । शनिवार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले बुटवलमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष नेपालले गठबन्धन राष्ट्रिय आवश्यकता बनेको र निरन्तर नै रहने भन्दै स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे ।
००००
श्रीलंकामा आन्दोलनकारीहरुले राष्ट्रपतिको सरकारी भवनमाथि कब्जा जमाएका छन् । राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमाथि आन्दोलनकारीहरुले कब्जा जमाएका हुन् ।
शनिबार कडा सुरक्षा घेरालाई तोडेर आन्दोलनकारीहरू राष्ट्रपतिको सरकारी निवासभित्र घुसेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे सरकारी निवास छाडेर सुरक्षित स्थानतर्फ गएको सिएनएनले उल्लेख गरेको छ । यसैबीच श्रीलंकन प्रधानमन्त्री राजीनामा दिन तयार भएको खबर छ ।
००००
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो तलबबार्ट यापर यम बुद्धको सालिक बनाउने बताएका छन् ।
शनिबार दिउँसो उनले आफ्नो फेसबुक अकाउन्टमा स्टेटस लेख्दै आफ्नो यम बुद्धको सालिक बनाउन खर्चिने बताएका हुन् ।
उनले लेखेका छन्, ‘म मेरो तबलबाट यम बुद्धको सालिक बनाउँछु ।’उनले यसअघि काठमाडौं महानगरपालिकाको बजेट बनाउँर्दा यापर यम बुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्टयाएका थिए ।
यम बुद्धको सालिक बनाउन बजेट छुट्याएपछि बालेनको चौतर्फी आलोचना भएको थियो ।