२८ जेठ २०८३, बिहीबार

असार सकिन लाग्दा उदयपुरमा २७ प्रतिशत खेतमा मात्र रोपाइँ

असार सकिन लाग्दा उदयपुरमा २७ प्रतिशत खेतमा मात्र रोपाइँ
फाइल तस्बिर

उदयपुरमा यसवर्ष धान रोपाइँ तुलनात्मक रुपमा ढिलो भएको छ । समयमै वर्षा भए पनि धानको बिउ हुर्कन समय लागेकाले रोपाइँ ढिलो भएको हो ।  

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार यसपटक जेठको सुरुदेखि नै वर्षा पर्याप्त भए पनि रोपाइँ भने ढिलो भएको छ । धानको बीउ समयमा हुर्कन नसकेका कारण जिल्लाका धेरै स्थानमा धान रोपाइँ ढिला भएको ज्ञान केन्द्रले जानकारी दिएको छ । 

जिल्लाको मुख्य धान उत्पादन क्षेत्रको पकेट मानिएको त्रियुगा नगरपालिकाको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, बगाहा, राजाबास तथा गैरुन र चुहाडे, असारी क्षेत्रमा अझै पनि धान रोपाइँ आधा पनि सकिएको छैन । कतिपय स्थानमा रोपाइँ सुरु नै नभएको कृषक बताउँछन् ।

चौदण्डीगढी नगरपालिकाको सिवाइ, सुन्दरपुर, हडिया, बेलही, क्षेत्रमा पनि भर्खर मात्र धान रोपाइँ सुरु भएको चौदण्डीगढी नगरपालिकाका कृषकहरुको भनाइ छ । यस्तै जिल्लाको धान उत्पादन पाकेट क्षेत्र मानिने बेलका नगरपालिकाको पुरनदह, तपेस्वरी, बानडाँडा, भागलपुर, आम्बासी, सेतीखोला, लालसिसुवा, जहडा, गुरुङचौरी, बरगाछी क्षेत्रमा हालसम्ममा ४० प्रतिशत मात्र धान रोपाइ भएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए । 

कटारी नगरपालिकाको त्रिवेणी, हरैया, मरुखोला, सोमबारे रिस्कुसहितका स्थानमा पनि हालसम्ममा २५ प्रतिशत जतिमा मात्र धान रोपाइँ भएको स्थानीय कृषक बताउँछन् । 

जेठको दोस्रोे हप्तादेखि नै वर्षा सुरु भएको तर धानको बीउ हुर्कन ढिला भएका कारण धान रोपाइ निकै ढिलो हुन पुगेको कृषकले बताएका छन् । जिल्ला कृषि ज्ञानकेन्द्रका प्रमुख महेश चौधरीका अनुसार यसपटक जिल्लाको तराईका चार नगरपालिकाभन्दा बढी धान रोपाइँ पहाडी पालिकामा भइरहेको छ ।

लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकामा झण्डै ४० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । यस्तै रौतामाई गाउँपालिकामा पनि ३८ प्रतिशत रोपाइँ भएको छ भने ताप्लीमा ३५ प्रतिशत रोपाई भइसकेको छ । पहाडी गाउँ पालिकाहरुको तुलनामा तराईका चार नगरपालिकामा धानको बीउ समयमा हुर्कन नसकेका कारण धान रोपाइँ ढिलाइ हुन पुगेको कृषक बताउँछन् । 
उदयपुरमा १४ हजार हेक्टरमा धानखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रका प्रमुख महेश चौधरीले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्