२७ जेठ २०८३, बुधबार

चारमहिने उपसभामुखमा पुष्पाको पल्लाभारी, यस्तो छ संसदको समीकरण

चारमहिने उपसभामुखमा पुष्पाको पल्लाभारी, यस्तो छ संसदको समीकरण

प्रतिनिधिसभाको उपसभामुख पदका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईबीच प्रतिष्पर्धा हुने भएको छ । शुक्रवार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा बैठकमा उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि मतविभाजनमा गएर चुनाव हुनेछ । 

प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत रहेकोले कांग्रेसकी भुसाल उपसभामुख बन्ने निश्चित जस्तै छ । प्रतिनिधिसभामा एमालेका ९७ सांसद छन् । एमाले उम्मेदवारको पक्षमा नेमकिपाका एक सांसद प्रेम सुवाल मात्र छन् । 

उपसभामुख दाबी गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समेत सत्ता गठबन्धनतर्फ ढल्किने संकेत गरेको छ । लोसपाले उम्मेदवार उठाउन आनाकानी गरेपछि एमालेले सांकेतिक उम्मेदवारी दिएको थियो ।

गठबन्धनको पक्षमा कांग्रेसका ६३, माओवादी केन्द्रका ५० (स्वतन्त्र छक्कबहादुर लामासहित), नेकपा एकीकृतका २४ (सोम पाण्डेसहित) तथा जसपाका २१ सांसद छन । 

१३ सांसद रहेको लोसपाले समेत कांग्रेस उम्मेद्वारलाई समर्थन गर्ने सम्भावना छ । तत्कालीन नेकपाको एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नेस्थिति आएपछि २०७६ सालमा डा.शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गराएपछि पद रिक्त थियो । 

चुनावको मिति घोषणाको तयारी भइरहँदा निर्वाचित हुन लागेकी उपसभामुखको कार्यकाल छोटो हुनेछ । प्रतिनिधिसभा चुनावको उम्मेदवारी मनोनयनको दिनसम्म मात्र उपसभामुखको कार्यकाल हुनेछ । 

सरकारले मंसिर ४ गते चुनाव गर्नेगरी मिति घोषणाको तयारी गरेको छ । एमालेको तर्फबाट सांकेतिक उम्मेदवारी दिन लागेकी विद्या भट्टराईलाई भने राजनीतिक लाभ हुने देखिएको छ । 

कास्की २ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेकी विद्याको टिकट सुनिश्चित बन्ने एमाले स्रोतले बतायो । पति रवीन्द्र अधिकारीको निधन भएपछि २०७६ सालमा उनी उपनिर्वाचन जितेर संसदमा आएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्