
गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ ।
गण्डकी प्रदेश सभाको बिहीवारको बैठकमा अर्थमन्त्री राजमीप्रसाद बराल ‘जीवन’ले विनियोजन विधेयक २०७९ पारित गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
अर्थमन्त्री बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते प्रदेश सभाको बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए भने असार २२ गते विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।
बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ बहुमतले पारित गरेको छ । सरकारको आव २०७९/८० को बजेटमध्ये चालूतर्फ ३६.९२ प्रतिशत र पुँजीगततर्फ ६१.६९ प्रतिशत रहेको छ ।
प्रदेशका लागि आगामी आवको बजेटको स्रोतमध्ये ९ अर्ब २३ करोड ९२ लाख राजस्वको बाँडफाँटबाट प्राप्त रकम र ५ अर्ब ९ करोड १६ लाख आन्तरिक आय गरी कूल १४ अर्ब ३३ करोड ८ लाख रुपैयाँ जम्मा आम्दानी हुने जनाइएको छ ।
यसअघि मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री बरालले प्रदेश गौरवका आयोजना, बहुवर्षीय स्रोत सुनिश्चित भएका आयोजनामा बजेटको अभाव हुन नदिन बहुवर्षीय स्रोत सुनिश्चितता भएका आयोजनामा विनियोजित रकम बहुवर्षीय स्रोत सुनिश्चितता भएका अन्य आयोजनाबाहेक अन्यत्र रकमान्तर गर्न नपाइने व्यवस्था गरेको बताए ।