
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन् ।
बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताए ।
नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले आगामी प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा जोड दिए ।
नेता निधिले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरूलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जान सुझाव दिएको बताए । उनले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रका संकटलाई कांग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने कुरा प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।
उनले भने, ‘आगामी संसद र प्रदेशको चुनाव पनि तपाईंले गराउनु मेरो समर्थन छ भनें । गठबन्धन र चुनावी तालमेल फरक–फरक कुरा हुन् । सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक छ । चुनावी तालमेलको लागि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्यो । त्यो सुखद् छ । अब संसदको निर्वाचनमा र प्रदेशको निर्वाचनमा त्योभन्दा बढ्ने उद्देश्य लिएर हामीले काम गर्नुपर्छ भनेर आग्रह गरें । अब पहिलो पार्टी मात्रै होइन, बहुमतीय पार्टी बन्नुपर्छ भनेर आग्रह गरें । स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएर कतिपय ठाउँमा स्वतन्त्र भएर नेपाली कांग्रेसका साथीहरूले नै जितेका छन्, उनीहरूलाई पनि समेटेर अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेको छ । यसलाई ध्यानमा राखेर एउटा विदेश नीति नेपाली कांग्रेसले दिशा लिनुपर्छ भन्ने आग्रह गरें । अर्थतन्त्रमा धेरै संकट आएको छ यसलाई पनि समाधान गर्न आग्रह गरें । अरु दलसँग त गठबन्धन गरेका छौं तर पार्टीभित्र पनि गठबन्धन चाहिएको छ, आवश्यक छ । नेपाली कांग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान चुनावमा जित्न सहयोग गर्छ, यसलाई तपाईंको काम भएकाले आफूले काम गरेर लैजानुस् भनें ।’