
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रवार) भारत भ्रमणमा जाँदैछन् ।
उनी ३ दिने भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्ल जानकारी दिए ।
मल्लका अनुसार प्रचण्ड आज दिउँसो १ बजे दिल्ली प्रस्थान गर्नेछन् ।
करीब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट भ्रमणको निम्तो दिएको मल्लले जानकारी दिए।
त्यतिबेला प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताएका थिए ।
अहिले सोही अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले भारत भ्रमणको औपचारिक निम्तो दिएको लागेको प्रचण्डका स्वकीय सचिव मल्लको भनाइ छ ।
भारत भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ ।
अध्यक्ष प्रचण्ड साउन १ गते आइतवार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
यसअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैत्र १८ देखि २० सम्म गरेको भारत भ्रमणको शिलशिलामा भाजपा मुख्यालयको भ्रमण गरेका थिए ।
प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवा पनि अहिले भारतमै छिन् ।
गठबन्धन सरकारले प्रतिनिधिसभा चुनावको मिति घोषणा गर्ने तयारी गर्दैगर्दा हुन लागेको प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।